गृहपृष्ठ एनसेलका कर्मचारी र सुदूरपश्चिमाञ्चल एकेडेमीका विद्यार्थीबीच अन्तर्क्रिया
एनसेलका कर्मचारी र सुदूरपश्चिमाञ्चल एकेडेमीका विद्यार्थीबीच अन्तर्क्रिया
नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका उच्चपदस्थ कर्मचारीहरु र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीहरुबीच सोमबार अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्क्रियामा एनसेलका प्रमुख कमर्सियल अफिसर प्रदीप श्रीवास्तव, ग्राहक सेवा तथा अपरेसन प्रमुख ज्योति दाहाल, ग्राहक सेवा तथा अपरेसन कमर्सियलकी टिम हेड सुमित्रा अर्याल, कमर्सियल कोअर्डिनेटर सन्तारा ताम्राकार, प्रोडेक्ट र डिभायस म्यानेजर राजेश मानन्धर, सिनियर स्पेशलिष्ट प्रणय श्रेष्ठ तथा सुदूरपश्चिमका सेल्स प्रमुख नवराज भट्ट सहभागी थिए । उनीहरुले एसपीएलका विधार्थीहरुसँग आफूहरुको अनुभव र कर्पोरेट क्षेत्रका व्यवहारिक ज्ञानबारे अन्तर्क्रिया गरेका थिए ।
अन्तर्क्रिया कार्यक्रममा एनसेलका प्रमुख कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले एनसेलको ब्रान्ड कलरसँग मिल्दोजुल्दो ब्रान्ड कलर एसएपीएको पनि भएको भन्दै खुशी व्यक्त गरे । विश्वबजार सबैका लागि खुला भएको उदाहरण दिँदै उनले जुनसुकै कुनाबाट उदाएका व्यक्तिले पनि अविश्वसनीय सफलता हासिल गर्न सक्ने भन्दै विधार्थीलाई प्रेरणा दिए । ‘माइक्रोसफ्टको सीईओ भारतको सामान्य नागरिक बन्नसक्छ भने भोलि यहीँका विधार्थीले पनि थुप्रै प्रगति गर्न सक्छन् । कुवाको भ्यागुतो बन्ने कि संसारमा छाउने सबै तपाई हाम्रै हातमा छ,’ श्रीवास्तवले भने, ‘सबैको आ-आफ्नो पोटिन्सियल हुन्छ । त्यसलाई चिनेर आफूलाई तिखार्दै लैजानुभयो भने एकदिन सबैले सफलता चुम्न सक्छ ।’
एसपीएका क्याम्पस प्रमुख योगराज गौतमले अतिथिहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै बहुराष्ट्रिय कम्पनीबाट श्रीवास्तावजस्ता उच्चपदस्थ कर्मचारीहरु एसपीएमा आउनु ठूलो उपलब्धि भएको बताए । ‘एसपीए कलेजले आफ्नो विधार्थीलाई विद्धता र जीवनप्रतिको चुनौतीलाई कसरी पार लगाउने कसरी आफूलाई मार्केटमा स्थापना गर्ने कला सिकाउने गर्छन् । त्यो कला सिकाउने भनेको व्यवहार फर्मेसनको कुरा हो,’ क्याम्पस प्रमुख गौतमले भने, ‘धेरै मान्छेले विश्वविद्यालयको डिग्री हासिल गरे पनि व्यवहारिक जीवनमा फेल खाएका छन् । हाम्रो अवधारणा नै स्मार्ट जमानाको स्मार्ट एसपियन भन्ने हो । यस्ता किसिमका ट्वारिङ पर्सनालिटीको जीवन नै आफैँमा सयौं किताब पढ्नुभन्दा बढी महत्वपूर्ण हुन्छ । उहाँहरुको कुराले विधार्थीको जीवनमा प्रेरणा मिल्छ । यस्ता गतिविधि हामीले निरन्तर गरिरहेका हुन्छौं र आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’
एसपीएकै एमबीएस अध्ययनरत विधार्थी टंक ओझाको संयोजनमा उक्त अन्तर्क्रियात्मक कार्यक्रम भएको हो । धेरैको पहुँचभन्दा पनि बाहिरका व्यक्तित्वहरुसँग एसपीएकै विद्यार्थीहरु सम्पर्क सुत्रका रुपमा रहनु कलेजकै लागि खुशीको कुरा भएको क्याम्पस प्रमुख गौतमले बताए । अन्तर्क्रिया सहभागिता जनाएपछि स्नातक प्रथम वर्षकी विधार्थी नमिता हमालले एसपीए कलेजले सैद्धान्तिक ज्ञानसँगै जीवनलाई व्यवहारिक रुपमा कसरी अघि बढाउने भन्ने कुरालाई पनि निरन्तरता दिएको भन्दै खुशी व्यक्त गरिन् ।
प्रकाशित समय : १८:३३ बजे



















