कृषि उत्पादन घट्यो, उद्योगको क्षमता उपयोग ४८ प्रतिशतमा सीमित
वि.सं.२०८३ मंसिर ९ बुधवार १७:०३
shares

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०८२/८३ मा ३.८५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४.४३ प्रतिशत रहेको आर्थिक वृद्धिदर गत वर्ष घटेको हो।
राष्ट्र बैंकको प्रतिवेदनले कृषि उत्पादनमा गिरावट, औद्योगिक क्षेत्रको कमजोर क्षमता उपयोग तथा आयात र निर्यात दुवैमा वृद्धि भएको देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत र प्रचलित मूल्यमा ३.८६ प्रतिशत रहने अनुमान गरिएको छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.५ प्रतिशत, १३.७ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७१ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बालीको उत्पादन ०.८४ प्रतिशतले घटेको छ। प्रमुख बालीले ढाकेको क्षेत्रफलसमेत १.५६ प्रतिशतले घटेको छ। तरकारी उत्पादन १.६७ प्रतिशत र फलफूल उत्पादन ०.२१ प्रतिशतले बढ्दा मसला उत्पादन भने १.३४ प्रतिशतले घटेको छ।
पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ३.६४ प्रतिशतले बढेको छ। तर मासु उत्पादन ०.०९ प्रतिशत र अण्डा उत्पादन ५.७७ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ।
वनजन्य उत्पादनतर्फ दाउरा उत्पादन १९.७४ प्रतिशत र औषधिजन्य वस्तुको उत्पादन ६५.३६ प्रतिशतले बढेको छ भने काठ उत्पादन १.४० प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो क्षमता उपयोग ५१.४३ प्रतिशत रहेको थियो।
यसैगरी, २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ३१.०२ प्रतिशत रहेको छ। उद्योगको क्षमता उपयोगमा आएको गिरावटले उपलब्ध उत्पादन क्षमताको तुलनामा वास्तविक उत्पादन कमजोर रहेको देखाएको छ।
सेवा क्षेत्रअन्तर्गत सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या ०.९५ प्रतिशतले बढेर ११ लाख ५८ हजार ४५९ पुगेको छ।
गत आर्थिक वर्षमा घर तथा भवनको नक्सापास सङ्ख्या २.९८ प्रतिशतले र घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त राजस्व ०.०४ प्रतिशतले घटेको छ। यद्यपि यातायातका साधन दर्ताको सङ्ख्यामा १६.१५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाह दुवै बढेका छन्। २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा निक्षेप १२.७२ प्रतिशतले र कर्जा प्रवाह ६.५५ प्रतिशतले बढेको छ। समीक्षा अवधिको अन्त्यमा औसत कर्जा–निक्षेप अनुपात ७२.३७ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ। कुल निक्षेपमा बागमती प्रदेशको हिस्सा ६४.०५ प्रतिशत र कुल कर्जामा ६०.९१ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा मुलुकमा २० हजार ६५७ किलोमिटर कालोपत्रे सडक, नौ हजार ३१६ किलोमिटर ग्राभेल सडक, नौ हजार ७०१ किलोमिटर कच्ची तथा नयाँ सडक र १५९ किलोमिटर रिजिड पेभमेन्ट निर्माण भएको छ।
गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन्। कुल वस्तु निर्यात १३.८१ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल वस्तु आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
निर्यातको तुलनामा आयातको वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पुनः श्रम स्वीकृतिसहित गत आर्थिक वर्षमा सात लाख ९२ हजार १८७ रहेको छ। प्रदेशगत रूपमा वैदेशिक रोजगारीमा जानेमध्ये मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी २२.६० प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.८५ प्रतिशत रहेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधन गरी कुल बजेट १६ खर्ब ८८ अर्ब ३३ करोड रुपैयाँ कायम गरिएको थियो।
संशोधित बजेटमध्ये आर्थिक वर्षको अन्त्यसम्म १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ। यो संशोधित बजेटको ९३.७१ प्रतिशत हो।
त्यस्तै, गत आर्थिक वर्षमा सातवटै प्रदेशको कुल विनियोजित बजेट दुई खर्ब ८७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। उक्त बजेटमध्ये चालु खर्चतर्फ ८६ अर्ब चार करोड रुपैयाँ अर्थात् ३०.०३ प्रतिशत, पुँजीगत खर्चतर्फ एक खर्ब ७१ अर्ब १७ करोड रुपैयाँ अर्थात् ५९.४९ प्रतिशत विनियोजन गरिएको थियो।
यसैगरी, वित्तीय व्यवस्थातर्फ ९८ करोड रुपैयाँ अर्थात् ०.३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ २९ अर्ब १६ करोड रुपैयाँ अर्थात् १०.१४ प्रतिशत बजेट विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ।

























