गृहपृष्ठ नेपाल क्यान्सर कन्फ्रेन्स–२०२६ सम्पन्न, क्यान्सर उपचारसँगै औषधिको पहुँचमा जोड
नेपाल क्यान्सर कन्फ्रेन्स–२०२६ सम्पन्न, क्यान्सर उपचारसँगै औषधिको पहुँचमा जोड
काठमाडौं । नेपालमा क्यान्सर उपचारका क्रममा देखिएका चुनौती, नयाँ उपचार पद्धति, अनुसन्धान तथा बिरामीले भोग्दै आएका समस्याबारे छलफल गर्दै नेपाल क्यान्सर कन्फ्रेन्स–२०२६ (NCC–2026) सम्पन्न भएको छ।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रको आयोजनामा काठमाडौंको होटल र्याडिसनमा शुक्रबारदेखि सुरु भएको दुईदिने सम्मेलन शनिबार सम्पन्न भएको हो। ‘ब्रेकिङ ब्यरियर्स, बिल्डिङ होप : अ कलेक्टिभ फाइट अगेन्स्ट क्यान्सर’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा विशेष स्तन तथा छातीको क्यान्सर पहिचान गरी, उपचार र उपचारपछिको हेरचाहबारे छलफल भएको थियो।
सम्मेलनमा नेपालसहित विभिन्न देशका क्यान्सर रोग विशेषज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य अनुसन्धानकर्ता, अस्पताल व्यवस्थापक तथा क्यान्सरबाट निको भएका व्यक्तिहरू सहभागी भएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले क्यान्सर उपचारका पछिल्ला अभ्यास र नेपालमा त्यसलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान गरेका थिए।
सम्मेलनमा नेपालमा भएका क्यान्सरसम्बन्धी मौलिक अनुसन्धानका शोधपत्र तथा पोस्टरसमेत प्रस्तुत गरिएको थियो।
उद्घाटनमा डा. लेखजंग थापाले क्यान्सरलगायत नसर्ने रोगको उपचार र नियन्त्रणमा सरकार एक्लैले काम गरेर मात्रै सम्भव नहुने बताएका थिए।
स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सरकारी तथा निजी क्षेत्रसँगै चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताए।
स्वास्थ्य क्षेत्रका समस्या, त्यसको समाधानका उपाय तथा आवश्यक कानुनी सुधारका विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारसँग छलफल गर्नुपर्नेमा पनि उनले जोड दिए।
क्यान्सरजस्ता जटिल रोगको उपचार लामो समयसम्म चल्ने र खर्चिलो हुने भएकाले सबै नागरिकको उपचारमा पहुँच बढाउन राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताए।
सम्मेलनका अध्यक्ष डा. सुदीप श्रेष्ठले विश्वमा क्यान्सर उपचारका क्षेत्रमा विकास भइरहेका नयाँ अभ्यास र प्रविधिलाई नेपालको स्रोत–साधनअनुकूल कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल भएको बताए।
नेपालमा क्यान्सर उपचारका सुविधा विस्तार भइरहे पनि उपचार खर्च, औषधिको उपलब्धता र बिरामीको पहुँचका विषय अझै चुनौतीका रूपमा रहेको उनले बताए।
क्यान्सर उपचार चिकित्सकको प्रयासमा मात्रै सीमित नरहेको भन्दै नर्स, पारामेडिक्स, अनुसन्धानकर्ता र बिरामीको समेत भूमिका महत्वपूर्ण हुने, यसैलाई ध्यानमा राखेर सम्मेलनमा क्यान्सरबाट निको भएका व्यक्तिका अनुभव समेटिएको ‘क्यान्सर सर्वाइभरसिप’ सत्रसमेत राखिएको थियो।
उक्त सत्रमा उपचारपछि बिरामीले भोग्ने शारीरिक, मानसिक तथा सामाजिक अवस्थाका विषयमा छलफल गरिएको थियो। यस वर्षको सम्मेलनमा क्यान्सर उपचारमा प्रयोग हुने औषधिको उपलब्धता, पहुँच र मूल्यलाई पनि प्रमुख विषय बनाइएको थियो।
क्यान्सरको उपचार लामो समयसम्म चल्ने भएकाले आवश्यक औषधि नियमित रूपमा उपलब्ध नहुँदा बिरामीको उपचार प्रभावित हुने अवस्था आउन सक्छ। औषधिको अभाव, मूल्य र आपूर्ति व्यवस्थासँग सम्बन्धित समस्याले बिरामी तथा परिवारमा थप आर्थिक भारसमेत पर्ने गरेको छ।
यही विषयमा सम्मेलनको दोस्रो दिन ‘ड्रग सर्टेज टु क्यान्सर मेडिसिन सेक्युरिटी : अ नेसनल एक्सन एजेन्डा’ विषयमा राष्ट्रिय गोष्ठी आयोजना गरिएको थियो।
गोष्ठीमा सांसद, स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, अस्पताल व्यवस्थापक, औषधि उत्पादक तथा आयातकर्ता, वितरक, क्यान्सर रोग विशेषज्ञ र क्यान्सरबाट निको भएका व्यक्तिका प्रतिनिधिबीच छलफल भएको थियो।
क्यान्सर औषधिको दर्ता प्रक्रिया, नियमित आपूर्ति, मूल्य तथा बिरामीले व्यहोर्नुपर्ने खर्च घटाउने उपायबारे छलफल गर्दै औषधिको उपलब्धता र पहुँच सुधारका लागि सरकारलाई ठोस सुझाव दिने विषयमा जोड दिइएको थियो। आयोजक अध्यक्ष डा. बृजेशराज घिमिरेले क्यान्सर उपचार चिकित्सकमा मात्र निर्भर नहुने बताएका थिए।
बिरामीको उपचारदेखि उपचारपछिको हेरचाहसम्म नर्स, पारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले सम्मेलनमा नर्सिङ क्षेत्रलाई समेत प्राथमिकता दिइएको थियो।
सम्मेलनमा नर्सिङसम्बन्धी छुट्टै सत्र सञ्चालन हुनुका साथै नर्सिङ अनुसन्धानका प्रस्तुति पनि राखिएको थियो।
क्यान्सरसम्बन्धी अनुसन्धानमा युवा चिकित्सक, नर्स तथा स्वास्थ्य अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलनमा उत्कृष्ट शोधपत्रका लागि एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको थियो।
सम्मेलनमा नेपालमा गरिएका विभिन्न अनुसन्धानका मौलिक शोधपत्र तथा पोस्टर प्रस्तुत भएका थिए। अनुसन्धानका माध्यमबाट नेपालमा क्यान्सर उपचारका क्रममा देखिएका समस्या पहिचान गरी समाधान खोज्न सकिनेमा सहभागीहरूले जोड दिएका थिए।
सम्मेलनमा भारतको टाटा मेमोरियल अस्पतालअन्तर्गत होमी भाभा क्यान्सर सेन्टरका निर्देशक डा. कुबा कुमार प्रसादले क्यान्सर उपचारमा लागत प्रभावकारिताको महत्त्वबारे विशेष प्रस्तुति दिएका थिए।
आधुनिक उपचार पद्धति र नयाँ औषधिको प्रयोगसँगै त्यसको लागत पनि बिरामीको पहुँचमा हुनुपर्ने विषयमा उनको प्रस्तुति केन्द्रित थियो।
सम्मेलनले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विज्ञसँग अनुभव आदानप्रदान गर्ने अवसरसमेत प्रदान गरेको आयोजकले जनाएको छ।
सम्मेलनमा क्यान्सरको उपचारसँगै रोकथाम र समयमै रोग पहिचान गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।
विशेषगरी स्तन तथा फोक्सोको क्यान्सर सुरुवाती चरणमै पहिचान गर्न सके उपचारको परिणाम राम्रो हुने भएकाले जनचेतना र समयमै परीक्षणको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
तम्बाकुजन्य क्यान्सरको जोखिम घटाउन तम्बाकु नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने विषयसमेत छलफलमा उठाइएको थियो।
कार्यक्रममा अर्गनाइजिङ सेक्रेटरी डा. अमित कोइराला, कार्यक्रम निर्देशक डा. गिशुफ निख प्रसिको र डा. हरि ढकाललगायतले पनि विभिन्न विषयमा धारणा राखेका थिए।
दुई दिनसम्म चलेको सम्मेलनले क्यान्सर उपचार, अनुसन्धान, औषधिको उपलब्धता र बिरामीको उपचारमा पहुँचका विषयलाई एउटै मञ्चमा ल्याएर छलफल गरेको छ।
आयोजकका अनुसार सम्मेलनबाट प्राप्त ज्ञान, अनुभव र सुझावले नेपालमा क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन तथा बिरामीले आवश्यक उपचार र औषधि सहज रूपमा पाउने वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : ११:३८ बजे


















