गृहपृष्ठ ‘सांसद रहबर अन्सारीले उठाएका विषयको निष्पक्ष परीक्षण गर्न तयार छौँ’ : नेशनल मेडिकल कलेज

‘सांसद रहबर अन्सारीले उठाएका विषयको निष्पक्ष परीक्षण गर्न तयार छौँ’ : नेशनल मेडिकल कलेज

‘सांसद रहबर अन्सारीले उठाएका विषयको निष्पक्ष परीक्षण गर्न तयार छौँ’ : नेशनल मेडिकल कलेज

वीरगञ्ज । प्रतिनिधिसभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका आरोपप्रति कलेजले आपत्ति जनाएको छ। कलेजले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद अन्सारीले प्रतिनिधिसभा बैठकमा उठाएका विषयहरू तथ्यहीन र अप्रमाणित रहेको दाबी गरेको हो।

बाराको क्षेत्र नं. ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अन्सारीले स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाउँदै कलेजका सम्बन्धमा विभिन्न विषय उठाएका थिए। उनका अभिव्यक्तिले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने कलेजको भनाइ छ।

कलेजका प्रशासन प्रमुख विश्वनाथ कन्ठद्वारा जारी विज्ञप्तिमा नेशनल मेडिकल कलेज सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्था भएको उल्लेख छ।

कलेजका अनुसार संस्था चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन तथा नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको छ।

सांसद अन्सारीले उठाएका आरोपका सम्बन्धमा कुनै पनि सम्बन्धित नियामक वा सरकारी निकायबाट पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ।

कलेजले आफूविरुद्ध उठाइएका विषयमा तथ्यमा आधारित, निष्पक्ष र पारदर्शी परीक्षण गर्न तयार रहेको जनाएको छ। आवश्यक परे सम्बन्धित निकायलाई अभिलेख तथा विवरण उपलब्ध गराउनसमेत प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको भनाइ छ।

कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु