काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमै विकसित ‘सेल ब्रोडकास्ट’ प्रणालीको पहिलो प्राविधिक परीक्षण सफल

1.05K
shares

काठमाडौं । विपद्का समयमा नागरिकलाई तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफल भएको छ ।

गृह मन्त्रालयका अनुसार सोमबार (मंसिर ७ गते) साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा उक्त प्रणालीको परीक्षण गरिएको हो । गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा प्रणालीको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालकै प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यो प्रणाली विपद् पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाउने महत्वपूर्ण प्रविधिका रूपमा लिइएको छ । यस प्रणालीमार्फत इन्टरनेटको आवश्यकता बिना निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनहरूमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिनेछ ।

प्रारम्भिक परीक्षण सीमित प्राविधिक वातावरणमा सफल भएपछि आगामी चरणमा पोखरामा एनसेलको सञ्जालमार्फत परीक्षण गरिने गृह मन्त्रालयले जनाएको छ । त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।

नेपाल भूकम्प, बाढी, पहिरोलगायत विभिन्न प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक भएकाले यस प्रणालीले विपद्का समयमा नागरिकलाई समयमै सचेत गराउन र जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयको विश्वास छ ।

यस प्रविधिको विकास तथा परीक्षणमा योगदान पुर्‍याउने नेपाली प्राविधिक जनशक्ति, सम्बन्धित निकाय र सरोकारवालालाई गृह मन्त्रालयले धन्यवादसमेत दिएको छ ।