दूरसञ्चार सेवाको गुणस्तर सुधारमा सम्झौता हुँदैन : सञ्चारमन्त्री
वि.सं.२०८३ मंसिर १० बिहीवार १२:२१
shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन।
नेपाल दूरसञ्चार प्राधिकरणले आज यहाँ आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रियामा उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउने जिम्मेवारीबाट कुनै पनि पक्ष पन्छिन नमिल्ने बताए।
मन्त्री तिमिल्सिनाले लामो समयसम्म दूरसञ्चार क्षेत्रको ध्यान सेवा विस्तार र पहुँचमा केन्द्रित हुँदा गुणस्तरको पक्ष ओझेलमा परेको उल्लेख गरे। राजधानी काठमाडौँमै नियमित टेलिफोन सम्पर्क स्थापित हुन नसक्नु र उपभोक्ताले प्रतिबद्धताअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्नु गम्भीर विषय भएको उनको भनाइ थियो।
सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएर नागरिकलाई डिजिटल माध्यममा जोड्ने अभियान अघि बढाइरहेको उल्लेख गर्दै उनले त्यसका लागि गुणस्तरीय इन्टरनेट र दूरसञ्चार सेवा अनिवार्य भएको बताए। गुणस्तरीय सेवा विलासिता नभई नागरिकको न्यूनतम आवश्यकता भएको उनले स्पष्ट पारे।
सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र प्राथमिकता दिन नहुने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले अनुमतिपत्र तथा सम्झौतामा गरिएका प्रतिबद्धताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। गुणस्तरीय सेवा प्रदान गरेर मात्रै व्यवसायबाट नाफा कमाउनुपर्ने उनको भनाइ थियो।
उनले सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति विकास गर्नुपर्ने बताउँदै गल्ती गर्नेले त्यसको जिम्मेवारी लिनुपर्ने र कारबाहीको भागीदार हुनुपर्ने उल्लेख गरे। अनुरोध र पत्राचारले मात्र सुधार सम्भव नहुने भन्दै उनले कानुनी अधिकार प्रयोग गरेर प्रभावकारी नियमन गर्न प्राधिकरणलाई आग्रह गरे।
कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नु नियामक निकायको अधिकार मात्र नभई दायित्वसमेत भएको उनले बताए। सेवा प्रदायकले कानुनविपरीत काम गर्दा कारबाहीमा पर्ने अवस्था सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो।
अनुमतिपत्र लिँदा गरिएका प्रतिबद्धता र सर्त अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कानुन र नियामकको निर्देशनलाई चुनौती दिएर बजारमा चलखेल गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।
उनले दूरसञ्चार क्षेत्रमा सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत सेवा तथा व्यवसाय विस्तार गर्ने र कानुनी दायित्व पूरा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। कानुनी वा नीतिगत अस्पष्टता भए समयमै समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले दायित्व पूरा नगरी पछि विभिन्न बहाना बनाउने प्रवृत्ति उचित नभएको बताए।
सरकार आवश्यक नीतिगत तथा कानुनी सुधार र सकारात्मक सहयोग गर्न तयार रहेको बताउँदै मन्त्री तिमिल्सिनाले सरकारी सहयोगको अर्थ कानुनविपरीतका गतिविधिलाई संरक्षण गरेको स्पष्ट पारे। समग्र क्षेत्रको सुधार र देशको हितका लागि सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक निकाय र सरकारको साझा जिम्मेवारी भएको बताए। समस्या समाधानका लागि तीनै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।
दूरसञ्चार सेवालाई चुस्त, गुणस्तरीय र भरपर्दो बनाउन प्राधिकरण आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि तयार रहेको बताउँदै अध्यक्ष घिमिरेले सेवा प्रदायकलाई सेवा विस्तार तथा गुणस्तर सुधारमा देखिएका समस्या स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गरे।

























