गृहपृष्ठ दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको छ । डिपोमा चामलको मौज्दात सकिएपछि दुर्गम क्षेत्रका स्थानीयले सहुलियत मूल्यको सरकारी चामल पाउनबाट वञ्चित हुने अवस्था बनेको हो ।

डिपोमा चामलसँगै कर्मचारीसमेत नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख केशव गिरीले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएकाले पुलुमा ट्रकबाट चामल ढुवानी गर्न सकिएको छैन । सडकमार्ग सहज नभएपछि खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘पुलु डिपोमा अहिले चामल छैन । सडक अवरुद्ध भएकाले खच्चडबाट ढुवानी गरेर लैजानुपर्ने अवस्था छ,’ गिरीले भने, ‘सुर्खेतस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी गर्ने तयारी छ।’

मुगुको भौगोलिक विकटताका कारण जिल्लाका दुर्गम बस्तीमा खाद्यान्न पु¥याउन सडक तथा स्थलमार्गकै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो समय वर्षा र पहिरोका कारण नाग्म–गमगढी सडकसहित जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध हुँदा खाद्यान्न ढुवानी प्रभावित भएको छ ।

असोजको दोस्रो सातासम्म मुगुको नाग्म–गमगढी सडकखण्डअन्तर्गत ताल्चामा सडक अवरुद्ध रहेको विवरण सार्वजनिक भएको थियो । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको थियो ।

मुगुमकार्मारोङ गाउँपालिका जोड्ने गमगढी–पुलु सडकमा समेत यातायात सहज नहुँदा डिपोमा खाद्यान्न पु-याउन थप कठिनाइ भएको हो । सडक पुगेको ठाउँमा ट्रकबाट चामल पु-याउन सकिने भए पनि सडक अवरुद्ध भएपछि दुर्गम बस्तीमा खच्चडलगायतका साधन प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अत्यधिक चिसो, सीमित खेतीयोग्य जमिन र वर्षमा एक बाली मात्र उत्पादन हुने अवस्थाका कारण मुगुमकार्मारोङलगायतका उत्तरी क्षेत्रमा बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था छ ।

गमगढीमा २८ सय क्विन्टल चामल

मुगु सदरमुकाम गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखामा भने अहिले करिब २८ सय क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख गिरीले बताए । उनका अनुसार उपभोक्तालाई एकपटकमा प्रतिव्यक्ति २५ किलोका दरले चामल बिक्री भइरहेको छ ।

दसैँ–तिहारजस्ता चाडपर्व नजिकिएसँगै खाद्यान्नको माग बढ्ने भए पनि सदरमुकाममा तत्कालका लागि चामलको मौज्दात रहेको उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुगु शाखामा चिनीसमेत बिक्री भइरहेको छ । जिल्लामा ५० क्विन्टल चिनी आएको र प्रतिव्यक्ति पाँच किलोका दरले बिक्री भइरहेको गिरीले जानकारी दिए ।

मुगुमा तीन डिपो, आपूर्तिको चुनौती उस्तै

मुगुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका तीन वटा दुर्गम डिपो सञ्चालनमा छन् । सोरु गाउँपालिकाको सोरुकोट, मुगुमकार्मारोङ गाउँपालिकाको पुलु र खप्तड छेडेदह गाउँपालिकाको श्रीकोटमा डिपो रहेका छन् । सदरमुकाम गमगढीमा शाखा कार्यालय तथा मुख्य बिक्री केन्द्र रहेको छ ।

तर, जिल्लाको भौगोलिक अवस्थाका कारण सदरमुकाममा चामल मौज्दात भए पनि दुर्गम डिपोमा समयमै पु-याउन समस्या हुँदै आएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाममा आइपुगेको खाद्यान्न पनि गाउँसम्म लैजान थप समय र खर्च लाग्ने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष कर्णालीका दुर्गम बस्तीमा चाडपर्वअघि नै खाद्यान्न पुर्याउने र गाउँस्तरमै बिक्री केन्द्र विस्तार गर्ने योजना अघि सारेको जनाएको थियो ।

मुगुमा भने सडक सञ्जालको अवस्थाले यस्तो योजना कार्यान्वयनमा चुनौती थपिएको छ । कम्पनीको मुगु शाखाले सुर्खेतबाट सिधै खाद्यान्न ढुवानीको तयारी गरे पनि मुगु सदरमुकामबाटै दुर्गम बस्ती जोड्ने सडक सहज नभएसम्म डिपोमा नियमित आपूर्ति कायम राख्न कठिन हुने देखिएको छ । बजार क्षेत्रको बढी चामल पाउँछ अन्य क्षेत्रको कम पाउने गरेको स्थानीय रतन रावलले बताए ।

दसैँको मुखमा पुलु डिपो रित्तिएपछि अब तत्काल चामल पुर्याउन सकिएमा मात्र स्थानीय उपभोक्ताले सहुलियत मूल्यको सरकारी चामल पाउनेछन् । अन्यथा सडक र ढुवानीको समस्या प्रत्यक्ष रूपमा उपभोक्ताको भान्सासम्म पुग्ने अवस्था देखिएको छ ।

प्रकाशित समय : १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु