काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

1.22K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् ।

अभियान उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्वपूर्ण रहेको बताए । रैथाने बोटबिरुवा, प्राणी तथा चराचुरुङ्गीको संरक्षण, रैथाने बालीको उपलब्धता, नदी किनाराको हरियाली तथा हिटी र राजकुलो प्रणालीको विकासका लागि जमिन पुनःभरण दिगो उपाय भएको उनको भनाइ थियो ।

उनले संघ र प्रदेश सरकारबाट स्रोत उपलब्ध गराउने तथा महानगरपालिकाले प्राविधिक सहयोगमार्फत प्रणाली विकास गर्न सके दिगो नतिजा हासिल गर्न सकिने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री थापाले काठमाडौं महानगरपालिकाले सुरु गरेको अभियानले देशभर जलवायु अनुकूलन तथा पानी पुनःभरणको अभियान विस्तार हुने अपेक्षा व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पानीको अभावका समस्या बढ्दै गएकाले अब छलफलमा मात्र सीमित नभई व्यवहारमै जमिन पुनःभरणको काम थाल्नुपर्ने बताइन् ।

‘अब गरौँला, कसले के भन्छ, हेरौँला भन्ने समय छैन । पानी नहुँदाका समस्या व्यक्तिव्यक्तिले भोग्नुपर्ने हुन थालेको छ । त्यसैले विचार विमर्शभन्दा काम नै थालेर आफ्नै घरमा जमिन पुनःभरण थालेका छौँ,’ उनले भनिन् ।

उनले महानगरपालिका कार्यालय, वडा कार्यालय तथा विद्यालयहरूमा पनि पुनःभरण प्रणाली निर्माण गरिने जानकारी दिइन् । सरकारी कार्यालयहरूले स्थान उपलब्ध गराए महानगरपालिकाले रिचार्ज प्रणाली निर्माण गरिदिने उनको भनाइ थियो ।

डंगोलले यो अभियान कार्यवाहक प्रमुखको हैसियतमा मात्र नभई साझा पृथ्वीको जिम्मेवार नागरिकका रूपमा सुरु गरिएको पनि बताइन् ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको उनले जानकारी दिए । उक्त योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज प्रणाली निर्माण गरिनेछ ।

राईका अनुसार रिचार्ज पिट निर्माणका लागि २० फिट गहिरो र २ फिट ६ इन्चदेखि ४ फिटसम्म व्यास भएको खाल्डो खनिनेछ । खाल्डोको तल्लो ९ फिट भागमा ढुङ्गा, त्यस माथिको ७ फिट भागमा २० देखि ४० एमएमका गिट्टी, एक फिट भागमा बालुवा राखिनेछ । त्यसपछि पानी छान्न जिओटेक्सटाइल कपडा राखेर माथिल्लो तीन फिट भाग खाली छाडिने र अन्त्यमा कभर लगाइनेछ ।

महानगरपालिकाले यस योजनाअन्तर्गत २ फिट ६ इन्च, ३ फिट र ४ फिट व्यासका ४६/४६ वटा गरी कुल १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ ।