काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने

1.07K
shares

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा भएको निर्वाचनले लामो समयदेखि कायम लेबर पार्टीको शासनलाई अन्त्य गरिदिएको छ ।

शनिबारको निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले बहुमततर्फको सफलता हासिल गरेपछि ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नेतृत्व सम्हाल्ने तयारीमा छिन् ।

निर्वाचन परिणामसँगै सन् २०१४ देखि लगातार तीनपटक सरकार बनाएको लेबर पार्टी विपक्षमा पुग्ने भएको छ । यसअघि सन् २०१० मा एक कार्यकाल सरकार चलाएको लिबरल–नेसनल गठबन्धन १२ वर्षको अन्तरालपछि पुनः सत्तामा फर्किएको हो । नयाँ नेतृत्वमा आउन लागेकी विल्सन भिक्टोरियाकी ५१ औँ प्रिमियर बन्नेछिन्। ३६ वर्षमै राज्यको सर्वोच्च कार्यकारी पदमा पुग्न लागेकी उनी भिक्टोरियाको इतिहासमा सबैभन्दा कम उमेरकी प्रिमियर बन्ने भएकी छन्।

साथै, अस्ट्रेलियाली महासंघ स्थापना भएयताकै सबैभन्दा कम उमेरमा राज्यको नेतृत्व गर्ने नेताका रूपमा उनको नाम दर्ता हुने भएको छ ।

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा लेबर पार्टीका नेता तथा वर्तमान प्रिमियर बेन क्यारोलले आफ्नो हार स्वीकार गरेका छन् । उनले विल्सनलाई फोन गरेर बधाई दिँदै सत्ता हस्तान्तरणको बाटो खुला गरेका हुन् ।

क्यारोलका लागि निर्वाचन परिणाम व्यक्तिगत रूपमा पनि निराशाजनक बनेको छ । उनी आफ्नै निर्वाचन क्षेत्र निड्रीमा पराजित भएका छन् ।

करिब पाँच दशकदेखि लेबर पार्टीको प्रभाव रहेको उक्त क्षेत्रमा उनको हारलाई पार्टीका लागि थप चुनौतीका रूपमा हेरिएको छ । पदमा रहँदै आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने उनी भिक्टोरियाका पहिलो प्रिमियर बनेका छन् ।

पराजयपछि प्रतिक्रिया दिँदै क्यारोलले निर्वाचन परिणामको जिम्मेवारी आफूले लिने बताएका छन् । मतदाताले नेतृत्व परिवर्तनको चाहना व्यक्त गरेको स्वीकार गर्दै उनले आगामी चार वर्ष विपक्षमा रहेर जनताको विश्वास पुनः हासिल गर्ने प्रयास गर्ने बताएका छन् । यस परिणामले भिक्टोरियाको राजनीतिमा नयाँ अध्याय सुरु गरेको छ । १२ वर्षसम्म विपक्षमा रहेको लिबरल–नेसनल गठबन्धन अब जेस विल्सनको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रियामा अघि बढ्नेछ ।