काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्री श्रेष्ठद्वारा म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

210
shares

सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीसहित मन्त्री श्रेष्ठले म्याग्दीको बेनी, गलेश्वर र पर्वतको जलजलामा गत असोज दोस्रो साता कालीगण्डकीमा आएको बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गरेका हुन् ।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जामा सडक, सिँचाइ, खानेपानी, विद्युत्, तटबन्ध, सार्वजनिक भवन तथा निजी आवासमा ठूलो क्षति पुर्‍याएको थियो ।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक योजना बनाउन, सरोकारवालाका सुझाव लिन तथा प्रभावितसँग भेटघाट र छलफल गर्न स्थलगत निरीक्षणमा आएको मन्त्री श्रेष्ठले बताए ।

यस वर्ष भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनले उल्लेख गरे । भइरहेका कामको निरीक्षण र आवश्यक योजनाको पहिचान गरी प्राथमिकता निर्धारण गर्न स्थलगत निरीक्षण गरिएको उनको भनाइ थियो ।

बेनी नगरपालिका–८ गणेशटोल पछाडिको क्षेत्रमा कालीगण्डकीको कटानबाट भत्किएको करिब एक सय मिटर पक्की पर्खाल पुनर्निर्माण गर्न तथा बेनी नगरपालिका–२ भसभसे, सिङ्गा, तातोपानी कुण्ड, गलेश्वर, कालीपुल र मङ्गलाघाट क्षेत्रमा तत्काल नदी नियन्त्रणको काम अघि बढाउन नगरप्रमुख सुरत केसीले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।

त्यसैगरी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कालीगण्डकीको बाढीले बस्ती नै बगाएको फर्से क्षेत्रमा नदी नियन्त्रण, विस्थापितको पुनस्स्थापना र कालीगण्डकीमा पुल निर्माणका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।

मन्त्री श्रेष्ठले बेनी क्षेत्रमा नदी नियन्त्रणको काम अघि बढाउन बजेटको स्रोत सुनिश्चितता गरिसकिएको जानकारी दिनुभयो । कालीगण्डकी बेसिनका जोखिमयुक्त तथा क्षतिग्रस्त बस्तीको संरक्षणका लागि बेनीमा कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत योजना सञ्चालन गरिने उनले बताए ।

बाढीबाट अकल्पनीय क्षति भएकाले बस्ती संरक्षण र तटबन्ध निर्माणका योजनाका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँको भनाइ थियो । प्रधानमन्त्री राहत कोषमा प्राप्त सहयोग रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमार्फत पुनर्निर्माणमा परिचालन गरिने उनले जानकारी दिए ।

यस वर्षको विपद्ले जलवायु अनुकूल पूर्वाधार निर्माणलाई विकासको अनिवार्य सर्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले विद्युत् नियमन आयोगले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका संरचनालाई सुरक्षित बनाउने विषयमा अध्ययन गरेको बताए ।

भोटेकोशीको बाढीबाट ऊर्जा क्षेत्रसँगै मानवीय जनशक्तिमा समेत ठूलो क्षति भएको उनले उल्लेख गरे । यस्ता विपद्को सामना गर्न अन्तरराष्ट्रिय साथ र सहयोग मागिएको जानकारी दिँदै उनले विकास संरचना निर्माण गर्नुमात्र पर्याप्त नहुने, त्यसको सुरक्षा, दिगोपना र नागरिकको जीवनको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।