झापामा ३९ लाखभन्दा बढीका अवैध भारतीय फूलमाला बरामद
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०५:३४
shares

झापा । सशस्त्र प्रहरीले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० रुपैयाँ बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ। काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा दुई दिनमा उक्त फूलमाला बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिए।
उनका अनुसार आज १४ लाख १५ हजार ३०० रुपैयाँ र सोमबार २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरका फूलमाला बरामद गरिएको हो। जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गरेको थियो। बरामद गरिएका फूलमाला प्रशासन, सुरक्षा निकाय, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको छ।
यसैबीच, झापामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले दुई स्थानबाट २२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्यचौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १० जना पक्राउ परेका हुन्। उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र ८९ हजार ७१० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा घरधनी भट्टराईसहित १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट पाँच बुङ तास र नौ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरीले जनाएको छ।

























