काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे

273
shares

काठमाडौँ। नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

भाइटीकाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने, उपहार तथा दक्षिणा दिने चलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीका लगाउन दिनभर उपयुक्त भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको छ। समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईका अनुसार राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्नेछ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने भएकाले यस दिशामा बस्दा चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता रहेको छ।

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवीसहित यमराज, यमुना तथा अन्य देवताको आराधना गर्ने परम्परा छ। त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाउने र मखमली, सयपत्री तथा गोदावरीका माला पहिर्‍याउने गरिन्छ।

शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्। टीकापछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला तथा सेलरोटीलगायत परिकार दिने गर्छन्।

दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ।

यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने चलन छ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि विसं २०७७ देखि भक्तजनका लागि पुनः खुला गरिएको हो।

यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्परा र स्थानीय चलनअनुसार कसैले भाइटीकाकै दिन र कसैले अघिल्लो दिन किजापूजा गर्ने गरेका छन्। भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा गरेका छन्।