काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो : सभामुख अर्याल

630
shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको मौलिक इतिहास, सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण प्रतीक भएको बताएका छन्।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् प्रारम्भ गरेको स्मरण गर्दै सभामुख अर्यालले यस संवत्ले जनकल्याण, परोपकार र सामाजिक न्यायको सन्देश बोकेको उल्लेख गरेका छन्।

नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग विशेष रूपमा जोडिए पनि यसको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व सम्पूर्ण नेपालीको साझा सम्पदा भएको उनको भनाइ छ। यससँग जोडिएका जात्रा, पर्व, परम्परा र रीतिरिवाजले नेपालको मौलिक सभ्यता र सांस्कृतिक विविधतालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।

यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति भएको उल्लेख गर्दै उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

सभामुख अर्यालले नेपाल संवत्को संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण राज्य तथा नागरिक सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

संसद्ले पनि भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण तथा नीतिगत बहसका माध्यमबाट प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन्।