काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

1.62K
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ ।

प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ ।

एनपिएल खेल्न नेपाल आएका विदेशी खेलाडीले यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपालीको आतिथ्यको प्रशंसा गरिरहेका छन् । उनीहरूले नेपालमा बिताएका क्षण र घुमफिरका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

विश्वभर ठूलो सङ्ख्यामा समर्थक र दर्शक भएका खेलाडीले नेपालका पर्यटकीय गन्तव्यबारे सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्दा विदेशी पर्यटकको नेपालप्रतिको चासो बढ्ने र पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गरेका थिए । सगरमाथाको प्रत्यक्ष दृश्यबाट प्रभावित उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुभव सार्वजनिक गर्दै नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गरेका छन ।

उनले लेखेका छन, “शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो । आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो । तस्बिर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन् । यो संसार कति विशाल र अद्भुत छ भन्ने महसुस गराउने क्षणमध्ये यो पनि एक हो ।”

वार्नरले अर्को भिडियोमार्फत नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि प्रशंसा गरेका छन । नेपाल प्राकृतिक सुन्दरताले मात्र नभई यहाँका मानिसको सरलता, व्यवहार र आत्मीयताले पनि विशेष रहेको उनको भनाइ छ ।

पहिलोपटक नेपाल आएका वार्नर एनपिएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेलिरहेका छन । दुई खेल खेलिसकेका उनले ब्याटिङमा प्रभावशाली प्रदर्शन गरेका छन । अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वार्नरको उपस्थितिले एनपिएलप्रति अन्तरराष्ट्रिय क्रिकेटप्रेमीको चासोसमेत बढाएको छ ।

त्यस्तै, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र यहाँको क्रिकेट वातावरणबाट प्रभावित भएका छन । पहिलोपटक नेपाल आएका उनले यहाँका हिमाली दृश्य र वातावरणको प्रशंसा गर्दै आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताएका छन ।

“नेपाल साँच्चै सुन्दर ठाउँ हो । यहाँ आएपछि देखिने प्राकृतिक दृश्य र हिमालहरूले मन लोभ्याउँछन् । यहाँको सुन्दरता र वातावरण अविश्वसनीय छ । आगामी दुई–तीन साता नेपालमा बिताउन पाउँदा म निकै उत्साहित छु”, मिलरले नेपाल आइपुगेलगत्तै भनेका थिए ।

उनले नेपालको क्रिकेट विकास र यहाँका समर्थकको उत्साहको पनि प्रशंसा गरेका छन । मिलरले नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको देश भएको उल्लेख गर्दै नेपालीको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जालाई प्रशंसनीय बताएका छन ।

“नेपाल क्रिकेटमा तीव्र रूपमा अघि बढिरहेको देश हो । यहाँका मानिसहरू क्रिकेटलाई निकै माया गर्छन् । उनीहरूको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जा साँच्चै प्रशंसनीय छ । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल देख्छु”, उनले भनेका छन ।

 

यसैगरी, बङ्गलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधिसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन । उनका पोस्टले नेपालबारे अन्तरराष्ट्रिय क्रिकेट समर्थकमाझ थप चासो सिर्जना गर्न सहयोग पुर्‍याएको छ ।

एनपिएलमा सहभागी विदेशी खेलाडीको गतिविधि क्रिकेट मैदानमा मात्र सीमित छैन । उनीहरूले नेपालको प्राकृतिक तथा सांस्कृतिक पक्षलाई नजिकबाट नियाल्ने र आफ्ना अनुभव सामाजिक सञ्जालमार्फत विश्वभरका समर्थकमाझ पुर्‍याउने अवसर पाएका छन् । यसले नेपाली क्रिकेटको अन्तरराष्ट्रिय पहिचान विस्तारसँगै नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।