आस्थाको केन्द्र बन्दै सर्लाहीको राजदेवी माई फुलमत माता मन्दिर
वि.सं.२०८३ कात्तिक २१ शनिवार १६:०३
shares

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ र ब्रह्मपुरी गाउँपालिका–३, भेल्हीस्थित नेपाल–भारत सीमा क्षेत्रनजिक रहेको राजदेवी माई फुलमत माता मन्दिर पछिल्लो समय श्रद्धालु भक्तजनको आस्थाको केन्द्र बन्दै गएको छ ।
मलंगवा बजार क्षेत्रबाट पूर्वोत्तर दिशामा झिम नदीको नजिक अवस्थित यस मन्दिरको वातावरण निकै मनमोहक र रमणीय छ । चारैतिर हरियाली रुखबिरुवाले घेरिएको मन्दिर परिसरले धार्मिक तथा प्राकृतिक सौन्दर्यलाई एकसाथ समेटेको छ ।
राजदेवी माईप्रति श्रद्धा राख्ने नेपाल तथा भारतका ठूलो संख्याका भक्तजन यहाँ पूजाअर्चना, आराधना तथा दर्शनका लागि आउने गरेका छन् । विशेषगरी आफ्नो मनोकामना पूरा भएपछि भक्तजनहरू माताको दर्शन गर्न पुग्ने गर्छन् । नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित भए पनि यस मन्दिरमा पूजाअर्चना गर्न कुनै सीमा बाधक बनेको छैन । दुवै देशका नागरिकले समान श्रद्धा र भक्तिभावका साथ यहाँ पूजा गर्ने गरेका छन् ।
वडा दसैँ तथा चैते नवरात्रका अवसरमा मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । दसैँको समयमा यहाँ मेला समेत आयोजना हुने गरेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका सबै उमेर समूहका मानिसहरू दर्शन तथा पूजाअर्चनाका लागि पुग्ने गरेका छन् । विशेषगरी युवा पुस्ताको समेत उल्लेख्य सहभागिता रहने गरेको छ ।
मन्दिरका पुजारी राज बर्माका अनुसार प्रत्येक शुक्रबार बिहान यहाँ पूजा तथा दर्शन गर्न आउने भक्तजनको विशेष भीड लाग्ने गरेको छ ।
मन्दिरको जग्गाधनी स्वर्गीय मना राउत कुर्मीका स्वर्गीय भाइ रामपृत राउतसँग जोडिएको धार्मिक किंवदन्ती पनि यस मन्दिरको विशेष पहिचानका रूपमा रहेको छ । स्वर्गीय रामपृत राउतलाई साक्षात् देवीको दर्शन भएको उनका भतिज बासुदेव राउतको कथन छ । धामीसमेत रहेका रामपृतले मातासँग प्रत्यक्ष संवाद हुने गरेको कुरा आफ्ना नातेदारहरूलाई सुनाउने गरेको बासुदेव राउत बताउँछन्।
स्वर्गीय रामपृत राउतको निधनपछि उनको सम्झनामा राजदेवी माई फुलमत माता मन्दिरको उत्तरतर्फ छुट्टै मन्दिर निर्माण गरिएको पनि बासुदेव राउतले जानकारी दिए ।
धार्मिक आस्था, परम्परा र नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत जोड्दै आएको राजदेवी माई फुलमत माता मन्दिर मलंगवा क्षेत्रको महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित हुँदै गएको छ । उचित प्रचारप्रसार, संरक्षण तथा पूर्वाधार विकास गर्न सके यस मन्दिरलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा समेत विकास गर्न सकिने सम्भावना रहेको मलंगवा ८ का स्थानियबासिन्दा एवम् व्यापारी अनिल रौनियार गुडुले बताए ।

























