आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून
वि.सं.२०८३ कात्तिक २१ शनिवार १७:१८
shares
oplus_1026
सारांश
- आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ ।
धनगढी । आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ ।
२०७९ साल असोजदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा ५० शय्याको सुविधासम्पन्न आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । देश संघीयतामा जानुअघि नै निर्माण सुरु गरिएको चिकित्सालय संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।
तर अस्पताल सञ्चालन भएको चार वर्ष पुग्न लाग्दासमेत चिकित्सालयमा आठौँ तहका एक जना मात्रै आयुर्वेद चिकित्सकको दरबन्दी सिर्जना गरिएको छ । आयुर्वेद प्रणालीबाट शल्यक्रियासहितका सेवा सञ्चालन गर्ने बृहत् योजनासहित स्थापना गरिएको अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा ती योजना कार्यान्वयन हुन सकेका छैनन् ।
आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक ओमप्रकाश कलौनी नागरिकको आकर्षण बढ्दै गए पनि सोहीअनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउँछन् ।
‘यसको स्थापना गर्दा ठूलो लक्ष्य राखिएको थियो,’ कलौनीले भने, ‘तर त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । भएको जनशक्तिले कैलालीको यति ठूलो जनसंख्यालाई सेवा दिन सक्दैन ।’
चिकित्सालयको उद्देश्यअनुसार विशेषज्ञ सेवा सञ्चालन गर्न कम्तीमा पाँच जना विशेषज्ञ आयुर्वेद चिकित्सकको दरबन्दी आवश्यक रहेको कलौनी बताउँछन् । हाल प्रदेश सरकारले केही स्वास्थ्यकर्मीलाई करार सेवामा चिकित्सालयमा खटाएको भए पनि स्थायी दरबन्दी पर्याप्त नहुँदा अपेक्षित सेवा विस्तार गर्न कठिनाइ भइरहेको छ ।

























