विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०५:३०
shares

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।
कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्रमा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आयोजित उच्चस्तरीय छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री तिमिल्सिनाले नेपालमा हालै आएको बाढीपहिरोले सञ्चार पूर्वाधारमा पुर्याएको क्षति र त्यसका कारण विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।
भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको आकस्मिक बाढीले जनधनको क्षतिसँगै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा समेत क्षति पुर्याएको उनले उल्लेख गरे।
उनले विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। साथै, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न सेवा आर्थिक रूपमा सहज बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव राखे।
यसैबीच, सम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
भेटमा उनले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराए।
दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ।

























