भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०५:२५
shares

महोत्तरी। मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको दीर्घायु, सुख, समृद्धि र कल्याणको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ। यस पर्वसँगै यस वर्षको दीपावली उत्सव पनि सम्पन्न हुँदैछ।
धनतेरसबाट सुरु भएको दीपावली पर्व तिथिको घटबढका कारण यस वर्ष छ दिनसम्म मनाइएको हो। सामान्यतया पाँच दिन मनाइने दीपावली यस वर्ष एक दिन लम्बिएको छ।
मधेस प्रदेशको महोत्तरीसहित मिथिला क्षेत्रका दिदीबहिनी आज दाजुभाइको पूजाको तयारीमा छन्। यमपञ्चकको अन्तिम दिन मनाइने यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भनिन्छ।
मैथिल परम्पराअनुसार विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा निम्त्याएर पूजा गर्ने चलन छ। अविवाहित दिदीबहिनी र दाजुभाइ एउटै घरमा बस्ने भएकाले उनीहरूले आफ्नै निवासमा पर्व मनाउँछन्।
मैथिली भाषामा दीपावली भनिने यस पर्वको विधि पहाडी समुदायमा मनाइने भाइटीकाभन्दा केही फरक भए पनि यसको पौराणिक कथावस्तु एउटै रहेको मैथिल लोकसंस्कृतिका जानकार शोभाकान्त झाले बताए।
उनका अनुसार सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्य, कल्याण र दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथासँग यस पर्वको परम्परा जोडिएको छ।
भैयादुजका दिन दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन्। निम्ता मान्न जाने दाजुभाइले नयाँ वस्त्र, आभूषण र कोसेली लिएर जाने चलन छ। दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) प्रयोग गरी चतुर्भुज आकारको अरिपन बनाउँछन्। त्यसपछि उक्त घेराभित्र काठको पिरामा दाजुभाइलाई बसाएर कोपरामा राखी तातोपानीले गोडा धुने परम्परा छ।
पूजा विधिअनुसार दाजुभाइलाई पिठार, पानको पात र सुपारी दिएर सप्तरङ्गी टीका लगाइन्छ। यस क्रममा गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइमा कायम रहोस् भन्ने कामनासहित परम्परागत गीत गाउने गरिन्छ।
यस पर्वको अर्को विशेष विधि दाजुभाइलाई सुकेको केराउ चपाउन दिने चलन हो, जसलाई ‘बजरी खुवाउने’ भनिन्छ। कडा केराउको दानालाई वज्रसँग तुलना गरी बजरी भनिएको मैथिल समुदायकी सामाजिक अगुवा अनिता शर्माले बताइन्। यस विधिले दाजुभाइको शरीर वज्रझैँ बलियो होस् भन्ने कामना व्यक्त गर्ने उनको भनाइ छ।
पूजा विधि पूरा भएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखिदिन्छन्। त्यसपछि दिदीबहिनीले मिष्ठान्न भोजन गराएर पर्व सम्पन्न गर्छन्।
मिथिला क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने अन्य पर्वसमेत प्रचलित छन्। साउन पूर्णिमामा मनाइने राखी पर्व तथा कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वले पनि दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह, समर्पण र पारिवारिक सद्भावलाई अभिव्यक्त गर्छन्। मैथिल समुदायका अगुवाहरूका अनुसार यी पर्व पारिवारिक सम्बन्ध, आपसी प्रेम र सामाजिक सद्भावका प्रतीक हुन्।

























