दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि बनेन
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०५:३७
shares

बागलुङ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात्रै पुगेको छ।
एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडक चार वर्षपछि बल्ल कालोपत्र गर्ने चरणमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। अहिले निर्माण व्यवसायीले कालोपत्र गर्नुअघि बेस बिच्छ्याउने काम गरिरहेको कार्यालय प्रमुख हरि सुवेदीले जानकारी दिए।
विसं २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक २०८१ भदौभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो। तर, निर्धारित समयमा काम नसकिएपछि दुई पटक म्याद थप गरिएको छ। दोस्रो पटक थपिएको म्याद आगामी मङ्सिरमा सकिँदैछ।
चार वर्ष बितिसक्दा पनि सडक निर्माण पूरा नभएकाले निर्धारित समयभित्र काम सकिनेमा स्थानीयवासीले आशङ्का व्यक्त गरेका छन्। समयमै सडक निर्माण नहुँदा लामो समयसम्म धुलाम्मे सडकमा आवतजावत गर्नुपरेको उनीहरूको गुनासो छ।
गलकोट नगरपालिका–७ मल्मका वडाध्यक्ष राजबहादुर थापाका अनुसार स्थानीयवासीको निरन्तर खबरदारी र जनगुनासोपछि पछिल्लो समय निर्माणले गति लिएको हो।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सागर भण्डारीले समयमै काम सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरी निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको बताए। त्यसपछि निर्माण व्यवसायी काममा फर्किएर बेस बिच्छ्याउने र सडक सम्याउने काम गरिरहेको उनले जानकारी दिए।
उक्त सडक निर्माणको ठेक्का वल्र्डवाइड/लोपूर्ण जेभीले पाएको थियो। निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए।

























