सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता
वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०८:२८
shares

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएको छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहनुभएका सञ्चारमन्त्री डा तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी)मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएको हुन्।
उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उहाँले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गर्नुभएको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री डा तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरे । उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री डा तिमिल्सिनालाई जानकारी गराए।
त्यसैगरी, सञ्चारमन्त्री डा तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरे । उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ ।
यसैबीच, मन्त्री डा तिमिल्सिनाले साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सहभागिता जनाएको थिए।
अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तरराष्ट्रिय मञ्च हो ।

























