जलवायु नीतिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन साइमन स्टिलको आग्रह
वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०७:३९
shares

अन्ताल्या ।युक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
टर्किएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित स्वास्थ्यसम्बन्धी मन्त्रीस्तरीय गोलमेच बैठकलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले स्वास्थ्य प्रणालीमा पार्ने असर मानव जीवन र मृत्युसँग प्रत्यक्ष जोडिएको बताए।
अत्यधिक गर्मीका कारण अस्पतालका वार्ड प्रभावित हुनु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा औषधि भण्डारणमा समस्या आउनु, बाढीले खानेपानीका स्रोत दूषित बनाउनु तथा प्राकृतिक विपद्का कारण गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुनु जलवायु सङ्कटका प्रत्यक्ष प्रभाव भएको उनले बताए।
जलवायु परिवर्तनले स्वास्थ्य प्रणालीलाई क्रमशः कमजोर बनाउँदै लगेको उल्लेख गर्दै स्टिलले विद्यमान स्वास्थ्य सेवाका कमजोरीलाई यसले थप गम्भीर बनाउने बताए। विद्युत् कटौती, स्वास्थ्यकर्मीको अभाव र स्वास्थ्य सेवा लिन लामो दूरी पार गर्नुपर्ने अवस्थाले सामान्य स्वास्थ्य समस्यालाई समेत गम्भीर सङ्कटमा परिणत गर्न सक्ने उनको भनाइ थियो।
उनले विशेषगरी जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायमा जलवायुसम्बन्धी रोग तथा मृत्युदर घटाउन र जलवायु उत्थानशील स्वास्थ्य सेवा विकास गर्न सबै देशले साझा प्रतिबद्धता जनाउनुपर्ने बताए।
ब्राजिलको बेलेममा सम्पन्न कोप–३० ले जलवायु अनुकूलनको प्रगति मापनका लागि प्रारम्भिक सूचक निर्धारण गर्नुका साथै स्वास्थ्यसम्बन्धी स्वैच्छिक कार्ययोजना अघि सारेको स्मरण गराउँदै उनले कोप–३१ मा ती प्रतिबद्धतालाई अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्यकर्मी र समुदायको सुरक्षासँग जोड्नुपर्ने बताए।
जलवायु परिवर्तनको असर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा समेत गम्भीर रूपमा देखिन थालेको उनले बताए। फिजीमा आयोजित कोपपूर्व बैठकमा आफूले गर्भावस्था र प्रसूति अवस्थालाई जलवायु सङ्कटको नयाँ जोखिमका रूपमा प्रस्तुत गरेको स्मरण गर्दै उनले ‘वेलकम’ संस्थाको नयाँ अध्ययनले त्यसलाई पुष्टि गरेको जानकारी दिए।
स्टिलले प्रत्येक राष्ट्रिय अनुकूलन योजनाले स्वास्थ्य सुरक्षासम्बन्धी आधारभूत प्रश्नको जवाफ दिन सक्नुपर्नेमा जोड दिए। गर्मीको लहरका बेला स्वास्थ्य संस्था सञ्चालनमा रहन सक्छन् कि सक्दैनन्, बाढीपछि सुरक्षित खानेपानी उपलब्ध हुन्छ कि हुँदैन, स्वास्थ्यकर्मीले रोगको प्रकोप फैलिनुअघि पहिचान गर्न सक्छन् कि सक्दैनन् र जोखिममा रहेका समुदायले आवश्यक उपचार पाउँछन् कि पाउँदैनन् भन्ने विषय योजनामा समेटिनुपर्ने उनले बताए।
राष्ट्रिय जलवायु अनुकूलन योजना निर्माणको सुरुदेखि नै स्वास्थ्य मन्त्रालयको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो। स्वास्थ्य क्षेत्रका प्राथमिकता निर्धारण, राष्ट्रिय योजनासँग समन्वय र उपलब्धिको नियमित अनुगमनमा मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुने उनले बताए। स्वास्थ्य क्षेत्रका छुट्टै योजना राष्ट्रिय अनुकूलन योजनाभन्दा अलग नभई त्यसलाई थप प्रभावकारी बनाउने गरी कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए।
स्वच्छ ऊर्जाबाट सञ्चालन हुने, पर्याप्त सुरक्षित खानेपानी उपलब्ध हुने, प्रभावकारी रोग निगरानी तथा पूर्वसूचना प्रणाली भएको र जलवायुजन्य जोखिम सामना गर्न सक्षम स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने स्वास्थ्य पूर्वाधार निर्माणमा राष्ट्रिय नेतृत्व आवश्यक रहेको उनले बताए।
कोप–३० मा सन् २०३५ सम्म अनुकूलनका लागि उपलब्ध गराइने वित्त कम्तीमा तीन गुणा बढाउन गरिएको आह्वानलाई वास्तविक वित्तीय प्रवाहमा परिणत गर्नुपर्नेमा पनि उनले जोड दिए। जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका तर आर्थिक तथा प्राविधिक स्रोतसाधन कम भएका देशले प्राथमिकताका आधारमा त्यस्तो वित्त प्राप्त गर्नुपर्ने उनको भनाइ थियो।
अनुकूलनका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्टिलले जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको सङ्क्रमण तीव्र र न्यायोचित रूपमा अघि बढाउनुपर्ने बताए। यसका लागि नवीकरणीय ऊर्जाको उत्पादन तीन गुणा बढाउनुका साथै ऊर्जा दक्षता दोब्बर बनाउनुपर्ने उनले उल्लेख गरे।
“निरन्तर तापक्रम बढिरहेको विश्वमा कुनै पनि स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा उत्थानशील बनाउन सकिँदैन,” उनले भने।
अन्ताल्यामा अघि सारिएको ‘हेल्थ एक्सेलेरेटर इनिसिएटिभ’ले जलवायु योजनामा गरिएका प्रतिबद्धता र बिरामीको वास्तविक सुरक्षाबीचको दूरी घटाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे। उक्त पहलले समानान्तर संरचना निर्माण गर्नुको सट्टा राष्ट्रिय प्रणालीमार्फत देशका प्राथमिकताअनुसार नेतृत्व, सहकार्य र वित्तीय स्रोत परिचालन गर्ने उनले बताए।
उनले मन्त्रीहरूलाई जलवायु योजना निर्माण, वित्तीय स्रोतको विनियोजन र उपलब्धि मापनका सबै चरणमा स्वास्थ्य क्षेत्रलाई समेटेर वास्तविक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे।
स्वास्थ्य क्षेत्र जलवायु नीतिको मानवीय प्रभाव प्रत्यक्ष देखिने क्षेत्र भएको उल्लेख गर्दै उनले औषधि सुरक्षित तापक्रममा राख्नु, अस्पतालका वार्ड सञ्चालनमा राख्नु, रोगको प्रकोप समयमै पहिचान गर्नु तथा आमा र बच्चालाई सुरक्षित रूपमा घर फर्काउनु नै जलवायु नीतिको सफलताका उदाहरण हुने बताए।
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी सहकार्यलाई नागरिकको सुरक्षा र जीवन रक्षासँग जोड्न आग्रह गर्दै स्टिलले कोप–३१ मा गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

























