काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

420
shares

अन्ताल्या । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ। टर्किएको अन्ताल्यामा जारी सम्मेलनस्थलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले पेभिलियन उद्घाटन गरेका हुन्।

नेपालको जलवायु महत्वाकाङ्क्षा झल्काउने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन भइरहेका जलवायु अनुकूलनका प्रयास प्रदर्शन गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले भोगिरहेको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। हिमनदी र हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिए।

जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले यसको असमानुपातिक रूपमा बढी असर भोग्नुपरेको उनको भनाइ थियो। जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज बनाउन र हिमाली क्षेत्रमा उत्थानशीलता निर्माण गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको उनले बताए। तल्लो तटीय क्षेत्रको संरक्षणमा पनि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको मन्त्री खनालले उल्लेख गरे।

उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायतले पनि सम्बोधन गरेका थिए।

यसैबीच, परराष्ट्रमन्त्री खनाल कोप–३१ को उद्घाटन पूर्ण सत्रमा सहभागी भए। सत्रमा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले सम्मेलनको अध्यक्षता गरेका थिए भने अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले वार्ता प्रक्रियाको नेतृत्व सम्हालेका थिए।

सम्मेलनकै क्रममा मन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन्। भेटमा खनालले हालैका विनाशकारी जलवायुजन्य विपद्पछि इथियोपिया सरकार र त्यहाँका जनताले देखाएको सहानुभूति तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।

उनले कोप–३१ र इथियोपियाको आगामी कोप अध्यक्षताअन्तर्गत समानता, साझा वातावरणीय जिम्मेवारी र बहुपक्षीय साझेदारीमा आधारित जलवायु कार्यलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

भेटवार्तामा दुवै मन्त्रीले जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि त्यसलाई दिगो बनाउने विषय, व्यापार, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धबारे छलफल गरेका थिए। साथै, नेपाल र इथियोपियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहयोगलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको थियो।