काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्य उत्पादनको लागत महँगियो

420
shares

चितवन । मकै र भटमासको मूल्य बढेसँगै पशुपन्छीका लागि प्रयोग हुने दानाको लागत महँगिएको छ। दानाको मूल्य बढ्दा कुखुरापालन, अण्डा उत्पादनदेखि दूध, माछा र मासु उत्पादनसम्मको लागत बढ्ने भएको छ। यसको असर अन्ततः उपभोक्ताको भान्सासम्म पुग्ने व्यवसायीहरूले बताएका छन्।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आयात हुने मकै प्रतिकिलो ३९ रुपैयाँ र नेपाली मकै ३६ रुपैयाँमा खरिद भइरहेको थियो। अहिले भारतीय मकैको मूल्य ५४ रुपैयाँ र नेपाली मकैको मूल्य ५० रुपैयाँभन्दा माथि पुगेको छ।

त्यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो ८७–८८ रुपैयाँबाट बढेर ९५–९६ रुपैयाँ पुगेको छ। ढुटोको मूल्य पनि प्रतिकिलो ३५ रुपैयाँबाट बढेर ४७ रुपैयाँ पुगेको छ।

कुखुराको दाना उत्पादनमा मकै र भटमासको पिनाको ठूलो हिस्सा प्रयोग हुन्छ। दानामा ५० देखि ६० प्रतिशतसम्म मकै र करिब २५ प्रतिशत भटमासको पिना प्रयोग हुने गरेको छ। यसबाहेक तोरीको पिना, ढुटो, डिसिपी, मार्बल डस्ट, मिनरल र भिटामिन पनि मिसाइन्छ।

कच्चा पदार्थको मूल्य बढ्दा दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको सापकोटाले बताए। उनका अनुसार विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा नेपाल आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ। ढुवानीमा लाग्ने समय बढ्दा लागत थप बढेको उनको भनाइ छ।

नेपालमा वार्षिक करिब तीन लाख ५० हजार मेट्रिक टन भटमासजन्य पदार्थ खपत हुने गरेको छ। यसको सम्पूर्ण परिमाण तेस्रो मुलुकबाट आयात हुन्छ। त्यस्तै, वार्षिक ६ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म मकै खपत हुने गरेको छ। त्यसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आयात हुन्छ भने बाँकी नेपाली उत्पादनले धान्ने गरेको छ।

भारतमा मकैको मूल्य बढेपछि कुखुराको दानामा प्रयोग गर्न नमिल्ने कम गुणस्तरको मकैसमेत इथानोल उत्पादनका लागि भारत जान थालेको सापकोटाले बताए।

कच्चा पदार्थको मूल्य बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानामा प्रतिकिलो पाँच रुपैयाँ र लेयर्स दानामा चार रुपैयाँ मूल्य बढाएका छन्। अहिले दानाको मूल्य प्रतिकिलो ५५ देखि ७५ रुपैयाँसम्म पुगेको छ। हाल बढाइएको मूल्यले पनि वास्तविक उत्पादन लागत धान्न नसक्ने अवस्था रहेकाले दानाको मूल्य थप बढ्न सक्ने सापकोटाको भनाइ छ।

दानाको मूल्य वृद्धिको असर अण्डा उत्पादनमा पनि देखिन थालेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दानाको लागत बढ्दा अण्डा उत्पादन खर्च प्रतिगोटा दुईदेखि तीन रुपैयाँसम्म बढेको छ। यसअघि अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम गरिएको थियो। दानाको मूल्य प्रतिकिलो करिब १० रुपैयाँले बढ्दा अण्डा उत्पादनको लागतसमेत बढेको उनले बताए।

लागत मूल्यसमेत नपाएर धेरै किसान व्यवसायबाट पलायन भइरहेको अवस्थामा दानाको मूल्य बढेपछि बाँकी रहेका किसान पनि थप समस्यामा पर्ने पोखरेलको भनाइ छ। उनले किसानले उत्पादन लागतअनुसारको मूल्य पाउने वातावरण बनाउन नसके अण्डा उत्पादक थप विस्थापित हुने चेतावनी दिए।

“छिट्टै लागत मूल्य पाउने वातावरण किसानलाई गराउन सकिएन भने बाँकी रहेका अण्डा उत्पादक किसान पनि विस्थापित हुन्छन्”, उनले भने। उनका अनुसार नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन्। पुराना किसानले लगानी थप्नु र नयाँ किसान व्यवसायमा प्रवेश गर्नुले उत्पादन बढेको छ।

दानाको मूल्य वृद्धिले चल्ला र मासु उत्पादनको लागतसमेत बढाएको छ। ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार जिउँदो कुखुराको उत्पादन लागत प्रतिकिलो करिब २१० रुपैयाँबाट बढेर २३० रुपैयाँभन्दा माथि पुगेको छ।

त्यस्तै, लेयर्स कुखुराको चल्लाको लागत प्रतिगोटा १२० रुपैयाँबाट बढेर १५० रुपैयाँ पुगेको छ भने ब्रोइलर चल्लाको लागत ६५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ। कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढ्दा पशुपन्छीजन्य उत्पादनको लागत सबै क्षेत्रमा बढेको लामिछानेले बताए।

यसको असर कुखुराको मासु र अण्डामा मात्रै सीमित नभई गाईभैँसीको दूध, माछा तथा बङ्गुर उत्पादनमा समेत पर्ने व्यवसायीहरूको भनाइ छ। उत्पादन लागत निरन्तर बढ्दै जाँदा किसानको खर्च बढ्ने र त्यसको प्रभाव बजार मूल्यमा समेत देखिने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।