कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्की जाँदै (भिडियो सहित)
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १७:२१
shares

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्की प्रस्थान गर्ने भएका छन्।
टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै, नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा पनि उनले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सम्मेलनका क्रममा मन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमालयसम्बन्धी उच्चस्तरीय कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।
त्यसैगरी, उनले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्री र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य, कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

























