काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झिनिया आम्दानीको स्रोत

378
shares

म्याग्दी। बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त हुन । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएको छन् । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उनले बताए ।

“दसैँ तिहारमा करिब रु तीनदेखि रु चार लाखसम्मका झिनिया बिक्री हुन्छ,” उनले भने, “तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ । उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ र पोखरासम्म बिक्री हुने गरेको छ ।”

हेर्दा आकर्षक, स्वादिलो र सजिलै तयार पारेर खान सकिने भएकाले चाडपर्वका समयमा झिनिया रोटीको खपत बढी हुने गरेको श्रेष्ठको अनुभव छ । मङ्गलाघाटकै हेमबहादुर पुनका १० जना परिवारका सदस्यहरु दैनिक झिनिया उत्पादनमा जुटेका छन् । पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुने गरेको छ ।

दसैँ–तिहारमा झिनियाको माग बढी हुने भएकाले परिवारका सबै सदस्य मिलेर उत्पादन गर्ने गरेको उनले बताए । चाडपर्वको समयमा रु दुईदेखि तीन लाख सम्मको झिनिया बिक्री हुने गरेको उनको भनाइ छ ।

“बेनी बजारका साथै पोखराबाट पनि झिनियाको माग आउने गरेको छ । उत्पादन गर्न सके बिक्रीको समस्या छैन,” उनले भने, “पछिल्लो दुई महिनादेखि दैनिक १० जना परिवारका सदस्य झिनिया बनाउने काममा लागेका छौँ ।”

तिहार पर्व भित्रिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको व्यापार बढेको छ । चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आएका बेनीका उद्यमीलाई मागअनुसार उत्पादन गर्न भ्याइनभ्याइ भएको छ । घरपरिवारका सदस्यसँगै श्रमिक परिचालन गरेर उद्यमीहरू झिनिया बनाउन व्यस्त भएका छन् ।

नेपाली मौलिक परिकारमध्ये झिनियालाई झिलिङ्गा रोटी पनि भन्ने गरिन्छ । चामलको पिठोबाट बनाइने झिनिया तिहारमा विशेष रूपमा प्रयोग हुन्छ । हेर्दा आकर्षक र खान स्वादिलो हुने भएकाले तिहार नजिकिएसँगै बेनी बजारमा यसको बिक्री बढेको हो ।

तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने र पाहुनालाई सत्कार गर्ने क्रममा झिनिया रोटीको माग हुने गरेको बेनी नगरपालिका–७ की टकसरा रानाले बताए । उनले विगत २५ वर्षदेखि झिनिया बनाउँदै आएको छन् ।

“झिनिया बनाउने परम्परागत संस्कृति भएकाले छाड्न सकिएन,” उनले भने, “दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुने र अरू महिला दिदीबहिनीलाई पनि प्रेरणा मिल्ने भएकाले यो काम गर्दै आएकी छ ।”

उनका अनुसार बेनी बजारका साथै ग्रामीण भेग र पोखराबाट समेत झिनियाको माग आउने गरेको छ । विदेशबाट पनि माग आउने गरेको उहाँले बताउनुभयो । दुई वर्षअघि अस्ट्रेलियाबाट २५ हजार बराबरको झिनियाको माग आए पनि उत्पादन गर्न नसक्दा रु १३ हजार बराबरको मात्रै बिक्री गरेको उनले सुनाए ।

चामलको पिठो पकाएर मेसिनमा पेलेपछि चाउचाउको जस्तो त्यान्द्रो निकालिन्छ । त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ । मङ्गलाघाटका कल्पना श्रेष्ठले विद्युत्बाट चल्ने झिनिया बनाउने मेसिन प्रयोग गर्दै आएको छन् । झिनिया बनाउन कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्छ । एक दिनमा तीन जनाले ३५० भन्दा बढी झिनिया बनाउन सक्छन् ।

झिनियालाई घ्यू वा तेलमा तारेर खान सकिन्छ । उद्यमीहरुका अनुसार प्रति १२ वटा झिनियालाई १४० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । बेनीको मङ्गलाघाटमा मात्रै २० जना झिनिया उद्यमी रहेको र अहिले सबैजसो उद्यमी उत्पादनमा व्यस्त भएका स्थानीयवासी रहेका म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुने गर्छ । झिनिया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ । झिनियालाई खाजाको परिकारको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

घरमा बनाउन झन्झट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको उपभोक्ता समिता पुनले बताए । घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घरव्यवहार चलाउन सजिलो भएको उद्यमीहरुले बताएका छन् । झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए ।