पर्सामा हुलाकमार्फत घरघरमै सिमकार्ड पुर्याइने
वि.सं.२०८३ कात्तिक २१ शनिवार ०६:३८
shares

वीरगञ्ज । नेपाल टेलिकमले पर्सा जिल्लामा सेवाग्राहीको घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको छ। हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार अब सेवाग्राहीले घरमै बसेर हुलाकमार्फत सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन्।
सर्वसाधारणलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवाका लागि सेवाग्राहीले नेपाल टेलिकमको अनलाइन फाराम भर्नुपर्नेछ। त्यसपछि हुलाक कार्यालयमार्फत सिमकार्ड घरमै पुर्याइने जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवले जानकारी दिए।
यो सेवा सुरु भएसँगै सिमकार्ड लिन टेलिकम कार्यालय वा अन्य वितरण केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको यादवको भनाइ छ।
सेवाको सुरुवातसँगै हुलाक कार्यालयका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी किरणकुमारी चौहानको घरमै पुगेर पहिलो सिमकार्ड वितरण गरेका छन्।
यसअघि हुलाक कार्यालयले चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस) र हुलाक बचत बैंकसम्बन्धी सेवा प्रदान गर्दै आएको थियो। पछिल्लो समय हुलाक सेवाको दायरा विस्तार गर्ने क्रममा सरकारी कागजात वितरणको जिम्मेवारीसमेत थपिएको छ।
हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्वपूर्ण सरकारी कागजात हुलाकमार्फत ढुवानी तथा वितरण हुँदै आएको छ।
त्यसैगरी, हुलाक वस्तु तथा पार्सल कहाँ पुगे भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सकिने गरी ट्र्याकिङ प्रणालीलाई पनि थप व्यवस्थित बनाइएको विभागले जनाएको छ।

























