जापानी परिकारसँगै संस्कृति चखाउँदै होक्काइडो ग्रुप
वि.सं.२०८३ कात्तिक २१ शनिवार २०:४०
shares

सारांश
- जापानी स्वादमा संस्कृति र सम्बन्धको सात दशक
- सुसीको स्वादसँगै जापानी संस्कृतिको झलक
- काठमाडौंमा जापानी खानाको उत्सव, ४८ परिकारको स्वाद
काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठलाई खानाको स्वाद र सांस्कृतिक प्रस्तुतिमार्फत उत्सवका रूपमा मनाइएको छ । काठमाडौंमा जारी जापानी फुड फेस्टिभलले जापानको परम्परागत पाककला, खानपान र सांस्कृतिक अभ्यासलाई नेपालीमाझ चिनाउने अवसर जुटाएको छ ।
होक्काइडो ग्रुप र र्याडिसन काठमाडौँको सहकार्यमा लाजिम्पाटस्थित होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९ सम्म फेस्टिभल सञ्चालन भइरहेको छ । यहाँ जापानी खानाका परिकार चाख्न मात्रै होइन, तिनको तयारी र परम्परासमेत नजिकबाट नियाल्न सकिन्छ ।
फेस्टिभलको मुख्य आकर्षण जापानबाट आएका सुसी कलाकार काजुयुकी हायाशीको प्रत्यक्ष पाककला प्रस्तुति हो । आगन्तुककै अगाडि सुसी तयार गर्ने उनको प्रस्तुतिले जापानी खानाको सीप र शैलीलाई जीवन्त बनाएको छ । करिब ४८ परिकारलाई नौ विधामा प्रस्तुत गरिएको फेस्टिभलमा निगिरी सुसी, होसोमाकी रोल र तेप्पान्याकीलगायतका परिकार समावेश छन् । त्यससँगै जापानी क्यालिग्राफी र माचा चिया बनाउने परम्परागत विधिले कार्यक्रमलाई खानाको स्वादमा मात्र सीमित हुन दिएको छैन ।
साँझ ५ देखि ८ बजेसम्म सञ्चालन हुने फेस्टिभलमा तीन हजार रुपैयाँ प्रतिव्यक्तिमा डिनर बुफे र अनलिमिटेड सुसीको व्यवस्था गरिएको छ । आयोजकका अनुसार प्रत्येक दिन ७० जनालाई मात्र सहभागी गराइनेछ ।
यसै वर्ष सातौँ वार्षिकोत्सव मनाइरहेको होक्काइडो ग्रुपले सन् २०१९ मा नेपालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो । जापानमा प्राप्त आतिथ्य र पाककलाको अनुभवलाई नेपालमा विस्तार गर्ने उद्देश्यसहित संस्थापक अर्जुन अधिकारीले सुरु गरेको व्यवसाय अहिले काठमाडौं उपत्यका, पोखरा र चितवनसम्म फैलिएको छ । समूहका अनुसार हाल यसका १० वटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालनमा छन् ।
नेपाल–जापान सम्बन्धको सात दशक र होक्काइडो ग्रुपको सात वर्षको यात्रालाई एकैसाथ जोडेको यो फेस्टिभल खानाको स्वाद लिने अवसर मात्र होइन, दुई देशका संस्कृति र परम्परालाई नजिकबाट बुझ्ने माध्यम पनि बनेको छ ।

























