विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल इटालीसँग
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १६:२५
shares

काठमाडौं । नेपालमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको तालिकाअनुसार घरेलु टोली नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
नेपालले डिसेम्बर ६ मा युगान्डासँग दोस्रो खेल खेल्नेछ। त्यसैगरी डिसेम्बर १० मा संयुक्त अरब इमिरेट्स (यूएई), डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग खेल्ने तालिका छ।
प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन्। आईसीसी क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र यूएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको अंकतालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।

























