काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नागरिकमुखी सेवा प्रवाहमा जोड दिँदै काम गर्न सञ्चारमन्त्रीको निर्देशन

1.16K
shares

ai logo सारांश

  • नागरिकमुखी सेवा दिन सञ्चारमन्त्रीको निर्देशन
  • नतिजामुखी काम गर्न सञ्चारमन्त्रीको जोड
  • सेवा प्रवाह सुधार्न मातहतका निकायलाई निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले संस्थाको जिम्मेवारी र कार्यादेशअनुसार परिणाममुखी काम गर्न निर्देशन दिएका हुन्।

कार्यालयका नियमित गतिविधि सञ्चालन गर्नु मात्रै उपलब्धि नभएको उल्लेख गर्दै उनले नागरिकले प्राप्त गर्ने सेवा र त्यसबाट पर्ने प्रभावलाई कार्यसम्पादनको मुख्य आधार बनाउनुपर्ने बताए।

‘हामीले के–के गतिविधि गर्‍यौँ भन्नेभन्दा त्यसको प्रभाव के रह्यो भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले भने, ‘हरेक दिन मापनयोग्य काम गर्दै अपेक्षित परिणाम हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्छ।’

मन्त्री तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायका प्रमुख र कर्मचारीले आफ्नो संस्थाको जिम्मेवारी स्वामित्वका साथ पूरा गर्नुपर्ने बताए। नेतृत्व तहबाटै सक्रियता र जवाफदेहिता देखिनुपर्ने उल्लेख गर्दै उनले प्रत्येक निकायले आफ्नो जिम्मेवारी पूरा गरे मन्त्रीस्तरबाट दैनिक निर्देशन दिनुपर्ने अवस्था नआउने धारणा राखे।

कार्यसम्पादनमा देखिएका समस्या समाधानका लागि त्रैमासिक समीक्षासम्म कुर्न नहुने उनको भनाइ थियो। समस्या देखिनासाथ सम्बन्धित महाशाखा, सचिव वा मन्त्रीसमक्ष जानकारी गराएर समाधान खोज्न निर्देशन दिँदै उनले समस्यासँगै समाधानका उपायसमेत प्रस्तुत गर्न आग्रह गरे।

सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न मन्त्रालयका सचिव तथा मातहतका निकायका प्रमुखबीच भएका कार्यसम्पादन सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए। आफूले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतासमेत मातहतका निकायको कामसँग जोडिएको उल्लेख गर्दै उनले सबै तहमा जवाफदेहिताको संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

बजेट खर्च गर्नु मात्रै प्रगति नभएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विनियोजित बजेट उद्देश्यअनुसार उपयोग भए–नभएको समीक्षा गर्नुपर्ने बताए। खरिद प्रक्रिया, बजेट उपयोग र वित्तीय कार्यसम्पादनलाई प्रभावकारी बनाउन समयमै निर्णय लिनसमेत उनले निर्देशन दिए।

अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले कानुनले अनिवार्य नगरेका तर कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने पुराना प्रक्रियामा सुधार गरी सेवा प्रवाह सहज बनाउनुपर्ने बताए।

मन्त्रालयअन्तर्गतका निकायमा संस्थागत सुधार, जनशक्ति व्यवस्थापन तथा सङ्गठन र व्यवस्थापन सर्वेक्षण (ओएनएम) मार्फत चुस्त संरचना निर्माणको काम अघि बढाइएको जानकारी दिँदै उनले संस्थाको आवश्यकता र कार्यादेशअनुसार जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायका नेतृत्वलाई आग्रह गरे।

बैठकमा संस्थागत गोपनीयता र पेसागत इमानदारी कायम राख्न पनि मन्त्री तिमिल्सिनाले निर्देशन दिए। संस्थाको हितविपरीत सूचना चुहावट गर्ने तथा संस्थागत मर्यादामा आँच पुर्‍याउने गतिविधिलाई सरकारले गम्भीरतापूर्वक लिने उनको भनाइ थियो।

बैठकमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले मन्त्रालयले नीतिगत, कार्यगत तथा बजेटगत गतिविधिलाई तीव्रता दिएको जानकारी दिए। प्रथम त्रैमासिकको समीक्षा गर्दा समग्र अवस्था सन्तोषजनक देखिए पनि केही ठूला खरिद प्रक्रिया र कार्यक्रम कार्यान्वयनका काम अझै प्रक्रियामै रहेको उनले बताए।

दोस्रो चौमासिकदेखि कामकाज थप सहज हुने अपेक्षा व्यक्त गर्दै सचिव पौडेलले सेवा प्रवाह छिटोछरितो, प्रभावकारी र गुनासोरहित बनाउनुपर्नेमा जोड दिए। अनलाइन प्रणालीको कार्यान्वयन, कर्मचारी व्यवस्थापन र आन्तरिक प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

बैठकमा मन्त्रालय तथा मातहतका निकायको प्रथम त्रैमासिक अवधिको कार्यप्रगति, बजेट खर्च, कार्यक्रम कार्यान्वयनको अवस्था र देखिएका समस्याबारे समीक्षा गरिएको थियो।