प्राविधिक अध्ययनका आधारमा नारायणी कटान नियन्त्रणको योजना बनाइने : रवि लामिछाने
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १६:००
shares

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना अघि बढाइने बताएका छन् ।
नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै उनले प्राविधिक अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताए ।
नदी कटानको जोखिमबारे जानकारी पाएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरेर प्राविधिक टोली पठाइएको उनले जानकारी दिए । टोलीलाई तत्काल गर्न सकिने काम पहिचान गर्नुका साथै भविष्यमा आउन सक्ने ठूलो बाढीबाट नारायणगढ बजारलाई सुरक्षित राख्ने दीर्घकालीन योजना तयार गर्न निर्देशन दिइएको लामिछानेले बताए ।
उनले कुनै पनि क्षेत्रलाई प्राविधिक रूपमा सुरक्षित राख्न सम्भव छ वा छैन भन्ने विषय महत्त्वपूर्ण हुने उल्लेख गर्दै अध्ययनबिना गरिने निर्णयले समस्या समाधान नगर्ने बताए ।
बाढीको जोखिम न्यूनीकरण गर्दा स्थानीयवासीको ज्यान जोगाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै लामिछानेले यो विषय जस लिनेभन्दा पनि नागरिकको जीवन रक्षा गर्ने विषय भएको बताए ।
भविष्यमा अहिलेको भन्दा ठूलो बाढी आउन सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर नारायणगढ बजारको सुरक्षा योजना बनाउनुपर्ने उनको भनाइ थियो । उनले प्राविधिक टोलीबाट प्राप्त सुझाव र सिफारिस सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

























