देउडाको भाकामा छेडेदह संरक्षणको सन्देश, सांस्कृतिक उत्सव सम्पन्न
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १६:१०
shares

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकास्थित पर्यटकीय छेडेदह तालको किनारमा देउडाका भाका गुञ्जिएका छन्। स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षणसँगै प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘रैबार छेडेदह’ सांस्कृतिक तथा देउडा उत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ।
छेडेदह कला साहित्य प्रतिष्ठानको आयोजनामा कात्तिक १८ र १९ गते सञ्चालन भएको उत्सवमा देउडा खेल, साहित्यिक प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी कलाकारले देउडाका माध्यमबाट स्थानीय मौलिक संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सन्देश दिएका थिए।
‘छेडेदह नाम गयो, पानी नाउलो सुकी गयो, छेडेदह ताल वृक्षरोपण गरौँ’ र ‘माथि छ मालिका, तल पर्छ नाटेश्वरी, पहिरोको रोकथाम गरौँ’ जस्ता देउडाका भाकाले ताल संरक्षण र पहिरो नियन्त्रणको आवश्यकतालाई उजागर गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष गणेश बुढाका अनुसार बडीमालिका, खप्तड, बुढीनन्दा, रानीसैन र छेडेदह ताललगायतका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो। यस्ता कार्यक्रमले स्थानीय सम्पदाको पहिचान विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ।
प्रतिष्ठानका सल्लाहकार कृष्ण ओलीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए। कार्यक्रममा देउडा खेलसँगै साहित्यका विभिन्न विधामा सक्रिय सर्जकले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।
उत्सवका क्रममा सहभागी वक्ताहरूले छेडेदह ताल पहिरोको जोखिममा रहेकाले यसको संरक्षण र व्यवस्थापनमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए। समयमै संरक्षणका उपाय अवलम्बन गर्न नसके प्राकृतिक सम्पदासँगै यस क्षेत्रको पहिचानसमेत संकटमा पर्न सक्ने उनीहरूको भनाइ थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर मौनीले यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक कला र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथले छेडेदह ताल गाउँपालिकाको नामकरणसँग समेत जोडिएकाले यसको संरक्षण र मौलिक संस्कृतिको जगेर्ना गर्न नसके स्थानीय पहिचान नै संकटमा पर्ने बताइन्। प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले छेडेदह ताललाई स्थानीय पहिचान र पर्यटनको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे। बडीमालिका जाने पर्यटकसमेत तालको सौन्दर्यबाट आकर्षित हुने उल्लेख गर्दै उनले ताल पहिरोको जोखिममा रहेकाले राजनीतिक आस्था र आपसी विवादभन्दा माथि उठेर साझा योजनाका साथ संरक्षणमा जुट्नुपर्ने बताए।
छेडेदह ताल स्वच्छ पानी, वरिपरिको हरियाली र शान्त प्राकृतिक वातावरणका कारण पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ। तर, पहिरो नियन्त्रण, फोहोर व्यवस्थापन र व्यवस्थित पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
छेडेदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्राकृतिक सौन्दर्यसँगै स्थानीय भाषा, भेषभूषा, कला, संस्कृति र परम्परालाई पनि पर्यटनसँग जोड्नुपर्ने देखिन्छ। देउडा र स्थानीय सांस्कृतिक गतिविधिलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्न सके यस क्षेत्रको पर्यटनमा थप सम्भावना खुल्न सक्छ।
तालको किनारमा गुञ्जिएको देउडाले मनोरञ्जनसँगै प्रकृति र संस्कृतिप्रतिको सामूहिक जिम्मेवारीको सन्देश दिएको छ। प्राकृतिक सम्पदा र मौलिक संस्कृति संरक्षणमा स्थानीय समुदाय, सरकार तथा सरोकारवाला सबैको सहकार्य आवश्यक देखिएको छ।

























