काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

630
shares

चितवन। संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।

मानवीय सेवा, संरक्षण, पुनःस्थापना तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील उक्त संस्थाले २०६६ वैशाख १ गतेदेखि भरतपुरमा रहेर हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा तथा ४६ जनाले प्राविधिक र औपचारिक सीपमूलक तालिम लिएर रोजगारी पाएका छन् ।

हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन् । गृहमा हुर्किएका १३ जना अन्य संस्थामा गएका, छ जना वैदेशिक रोजगारीमा गएका र दुई जनाको संस्थाकै अगुवाइमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिए ।

संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय प्राप्त गरेका तथा न्यायिक प्रक्रियामा रहेका ३३४ जना छन् । संस्थासँग सम्बन्धित चारवटा मुद्दा विचाराधीन छन् । त्यस्तै, गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ ।

भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन् । उनीहरू हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र अनाथ बालबालिका हुन् । आश्रितहरूको दीर्घकालीन व्यवस्थापनका लागि गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा आफ्नै जग्गामा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ ।

संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गर्नुभएको छ भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराएको छन् । त्यस्तै, ४९ जना दाताले थप तीन कठ्ठा जग्गा खरिद गर्न सहयोग गरेका छन् । उक्त जग्गामा सात करोड ५० लाखको लागतमा चारतले सुविधासम्पन्न आश्रम निर्माण भइरहेको छ । आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ । गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गरिने संस्थाले जनाएको छ ।

दाताको सहयोगमा सञ्चालन हुँदै आएको गृहले आश्रम निर्माणका लागि यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ । संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ आयोजना गर्न लागिएको हो । अध्यक्ष खरेलले आफ्नो जीवनको सम्पूर्ण समय हिंसा प्रभावित तथा अनाथको संरक्षणमा समर्पित गरेको उल्लेख गर्दै सचिव अधिकारीले सबैको साथ र सहयोगबाट सुविधासम्पन्न आश्रम निर्माण गरी प्रभावितलाई सुरक्षित आश्रय प्रदान गर्ने लक्ष्य रहेको बताए ।