हुकाहुकी पर्वका लागि सीमित बन्दै जुटखेती
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ०७:३०
shares

भद्रपुर । तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था छ । परम्परागत जुट (पाटा) खेती घट्दै जाँदा पर्व मनाउन समस्या हुन थालेको हो ।
बिर्तामोड–९ गरामनीमा यही कात्तिक २१ गते आयोजना हुने सामूहिक हुकाहुकी कार्यक्रमका लागि आयोजकले गौरीगन्जबाट एक ट्याक्टर सन्ठी ल्याउनुपरेको छ । बिर्तामोड, कनकाई र भद्रपुर आसपासका क्षेत्रमा खोज्दा पनि नपाएपछि गौरीगन्जबाट ल्याउनुपरेको राजवंशी युवा समितिका अध्यक्ष विश्वदीप राजवंशीले बताए ।
बिर्तामोड–९ की सकुन राजवंशीले पनि एक मुठा सन्ठीलाई रु १०० मा खरिद गर्नुभयो । लक्ष्मीपूजाका दिन हुकाहुकी खेल्न सन्ठी अनिवार्य चाहिने भएकाले खोज्दै हिँडदा बिर्ताबजारमा हटिया लागेको दिन खरिद गर्न पाएको उनले बताए । “गाउँघरमा पहिले जताततै पाइने सन्ठी अहिले खोज्दा पनि पाउन गाह्रो छ”, उनले भने ।
राजवंशी, ताजपुरिया, गनगाई र माझीलगायत आदिवासी समुदायले लक्ष्मीपूजाका दिन सन्ठीको मुठो बनाएर पूजा गर्ने र आगो सल्काउँदै हुकाहुकी खेल्ने परम्परा छ । पर्वसँग जोडिएको सन्ठीको मुख्य स्रोत जुटखेती घट्दै जाँदा यसको उपलब्धतामा कमी भएको छ ।
कुनै समय झापाको प्रमुख नगदेबालीका रूपमा रहेको जुटखेती अहिले सीमित क्षेत्रमा मात्र हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार यस वर्ष जिल्लामा करिब ५२५ हेक्टरमा जुटखेती गरिएको छ । बाह्रदशी गाउँपालिका–१ मा यस वर्ष पाँच बिघामा जुटखेती गरिएको पूर्ववडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । उनका अनुसार उचित मूल्य नपाउनु र खेती झन्झटिलो हुँदा किसानले जुटखेती छाड्दै गएका छन् ।
“पाटा कुहाउन खोला वा पोखरी चाहिन्छ, जलासय हराउँदै गए”, उनले भने, “बीउ छरेदेखि तयार पाटा सुकाउँदासम्म धेरै मिहिनेत गर्नुपर्ने भएकाले किसानले खेती छाड्दै गएका हुन् ।” उहनका अनुसार पहिले बिघौँबिघा जमिनमा जुटखेती गर्ने किसान अहिले घरायसी प्रयोजनका लागि थोरै क्षेत्रफलमा मात्र खेती गर्छन् । बाह्रदशी–१ का किसान रुपलाल राजवंशीले गत वर्ष एक कठ्ठामा जुटखेती गरेका थिए । “पाटाभन्दा पनि सन्ठीकै लागि खेती गर्ने गरेको छु”, उनले भने ।
घरायसी प्रयोजनमा सन्ठी
आदिवासी समुदायले सन्ठीलाई हुकाहुकी पर्वमा मात्र नभई आगो सल्काउन, गुइठा बनाउन र अन्य घरायसी काममा प्रयोग गर्दै आएका छन् । कुनै समय जुटबाट घरमै डोरी बनाउने चलन भए पनि अहिले बजारबाटै डोरी किन्ने गरिएको स्थानीय रुपलालले बताए। “सन्ठी नभई हुँदैन, त्यसैले थोरै भए पनि पाटा लगाउने गरेका छौँ”, उनले भने।
झापाको कचनकवल, बाह्रदशी, झापा र गौरीगन्ज गाउँपालिकाका केही क्षेत्रमा जुटखेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त खेतीको क्षेत्रफल घट्दै जाँदा त्यसमा निर्भर परम्परागत प्रयोग र संस्कृति पनि प्रभावित हुन थालेका छन् ।

























