उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १६:१३
shares

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाका २७ भूमिहीन दलित परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। नगरपालिकाको वडा नम्बर ३ र ५ का परिवारलाई बिहीबार आयोजित एक कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो।
त्रियुगा नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले लाभग्राही परिवारलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरेका थिए। पहिलो चरणमा वडा नम्बर ३ का १३ र वडा नम्बर ५ का १४ परिवारले लालपुर्जा पाएका हुन्।
त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतका अनुसार जिल्ला भूमि आयोग उदयपुरले कानुनी प्रक्रिया पूरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएसँगै आफ्नो जग्गामा कानुनी अधिकार प्राप्त गरेका छन्। सरकारी लक्ष्यअनुसार पुर्जा वितरण प्रक्रियालाई तीव्रता दिइएको जिल्ला भूमि आयोग उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए।
जग्गाधनी पुर्जा वितरणका लागि स्थानीय तहले जग्गाको नापजाँच गरी आवश्यक कागजात तयार पार्ने र आयोगले त्यसको अध्ययन तथा कानुनी प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति दिने व्यवस्था छ।
प्रजिअ शाहीका अनुसार शुक्रबार कटारी नगरपालिकाका ११ र रौतामाई गाउँपालिका–७ का ६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ। त्यस्तै, चौदण्डीगढी नगरपालिकाका ३२ र बेलका नगरपालिकाका ४५ परिवारको लालपुर्जासमेत वितरणका लागि तयार भएको छ।
लालपुर्जा तयार भएका स्थानीय तहलाई वितरण प्रक्रिया अघि बढाउन भनिएको र अन्य पालिकाबाट प्राप्त कानुनी प्रक्रिया पूरा भएका कागजातको अध्ययन भइरहेको शाहीले जानकारी दिए।
भूमि आयोगका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा लालपुर्जा वितरण प्रक्रिया जारी छ। कानुनी प्रक्रिया पूरा गरेका परिवारलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ।

























