काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चितवनका फूलको विदेशमा माग, बेलायतदेखि दुबईसम्म निर्यात

798
shares

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा फूलका माला विदेश निर्यात हुन थालेका छन् । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला बेलायत, हङ्कङ र दुबईसम्म पुग्न थालेको हो ।

स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका सयपत्री र मखमलीका माला तथा फूलका थुङ्गा विभिन्न देशमा पठाएको छ । बाँस्तोलाका अनुसार तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ निर्यात गरिएको छ । त्यस्तै, विशिष्ट व्यक्तिका लागि तयार गरिएका ५०० वटा विशेष माला र ५०० किलो सयपत्री फूलका थुङ्गासमेत हङ्कङ पठाइएको छ ।

यसैगरी, एक हजार सयपत्रीका माला र एक हजार किलो फूलका थुङ्गा दुबई तथा ५०० वटा मखमलीका माला बेलायत निर्यात गरिएको बाँस्तोलाले जानकारी दिए । ती देशमा रहेका नेपाली व्यवसायीले चितवनबाट फूल तथा माला खरिद गरी लगेका हुन् ।

सात वर्षअघि पाँच कठ्ठा जमिनबाट सुरु गरिएको फूलखेती अहिले विस्तार भएर १० बिघामा पुगेको छ । जसमध्ये पाँच बिघामा तिहारलाई लक्षित गरी फूलखेती गरिएको छ भने बाँकी जमिनमा बेमौसमी फूल उत्पादन हुँदै आएको छ ।

बाँस्तोलाका अनुसार उत्पादित माला नेपाली बजारमा प्रतिगोटा ८० रुपैयाँ र विदेशमा १०० रुपैयाँमा बिक्री हुने गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमेपछि सुरु गरिएको फूलखेती अहिले परिवारको राम्रो आम्दानीको स्रोत बनेको छ । यस व्यवसायबाट वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताए ।

परिवारका चार दाजुभाइमध्ये तीन जनाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् । गोविन्द स्वयं चितवन मेडिकल कलेजमा अध्यापन गर्छन् । सुरुमा तीन जनाको समूहले थालेको व्यवसाय अहिले परिवारका चार दाजुभाइ मिलेर सञ्चालन गरिरहेका छन् ।

यस वर्ष तिहारलाई लक्षित गरी पाँच बिघा जमिनमा लगाइएको फूलबाट ३० देखि ४० हजार माला र ५०० किलो फूल उत्पादन गर्ने लक्ष्य राखिएको छ । अन्य समयमा भने मासिक छ हजारभन्दा बढी माला उत्पादन हुने गरेको बाँस्तोलाले बताए ।

यस वर्षको तिहारमा २० देखि २५ जनालाई रोजगारी दिएर करिब २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य परिवारले राखेको छ । चितवनमा उत्पादित फूलको मुख्य बजार काठमाडौं, पोखरा, हेटौँडा, बुटवल, धनगढी, नेपालगञ्ज र बागलुङलगायत सहर हुन् । उत्पादित फूलमध्ये करिब ४० प्रतिशत चितवनमै खपत हुने गरेको छ भने बाँकी अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ ।

रोजगारी गुमेपछि सुरु गरिएको सामान्य फूलखेती सात वर्षमै विदेशसम्म बजार विस्तार गर्न सफल भएको छ । यसले व्यावसायिक कृषि र पारिवारिक उद्यममार्फत स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने सम्भावनासमेत देखाएको छ ।