तिहारका लागि पोखरा भित्रिए भेडाच्याङ्ग्रा
वि.सं.२०८३ कात्तिक २१ शनिवार ०६:२७
shares

पोखरा । दसैँपछि तिहारलाई लक्षित गर्दै हिमाली जिल्लाबाट भेडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झर्न थालेका छन्। मुस्ताङ, डोल्पा र मुगुलगायत जिल्लाबाट ल्याइएका भेडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ सिमपानी क्षेत्रमा बिक्रीका लागि राखिएका छन्।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङका अनुसार यस वर्ष तिहारका लागि मुस्ताङबाट सात सय च्याङ्ग्रा पोखरा ल्याइएको छ। मुस्ताङबाट बाहिरिएका एक हजार दुई सय च्याङ्ग्रामध्ये पाँच सय काठमाडौँ र सात सय पोखरा ल्याइएको उनले बताए।
उनका अनुसार रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँसम्म पर्छ। अन्य च्याङ्ग्रा भने आकार र गुणस्तरअनुसार फरक मूल्यमा बिक्री भइरहेका छन्। छिरिङले साथी निरज थकालीसँग मिलेर ५५ वटा च्याङ्ग्रा पोखरा ल्याएका छन्।
दसैँमा च्याङ्ग्राको व्यापार राम्रो भए पनि तिहारमा माग तुलनात्मक रूपमा कम हुने व्यापारी बताउँछन्। ‘दसैँमा फूलपातीपछि माग धान्नै नसक्ने अवस्था थियो,’ छिरिङले भने, ‘तिहारमा माग स्वाभाविक रूपमा कम हुन्छ, तर अघिल्ला वर्षको तुलनामा यसपटक पोखरामा बढी च्याङ्ग्रा आएका छन्।’
सिमपानीका सात–आठ स्थानबाट अहिले भेडाच्याङ्ग्राको बिक्री भइरहेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ का उदीम भाम पनि सुर्खेत हुँदै चार दिनको यात्रापछि भेडाच्याङ्ग्रा लिएर पोखरा आइपुगेका छन्। उनीसँग अधिकांश भेडा र साँढ छन् भने केही च्याङ्ग्रा पनि छन्।
पाँच–छ वर्षदेखि पोखरामा च्याङ्ग्रा बिक्री गर्दै आएका भामले गत वर्ष व्यापारमा घाटा बेहोर्नुपरे पनि यस वर्षको दसैँमा राम्रो कारोबार भएको बताए। ‘दसैँमा च्याङ्ग्रा ल्याएर बेच्ने गरेको छु। तिहारको व्यापार कस्तो हुन्छ, हेर्न बाँकी छ,’ उनले भने।
उनका अनुसार दसैँ–तिहारको समयमा एक व्यापारीले डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। यद्यपि टाढाबाट पशु ल्याउँदा ढुवानी, खाना र बासमा ठूलो खर्च हुने गरेको छ।
डोल्पाका सन्तोष धराला पनि एक सय ५० च्याङ्ग्रा लिएर पोखरा आएका छन्। तीन वर्षदेखि चाडपर्वमा च्याङ्ग्रा बिक्री गर्न पोखरा आउँदै आएका उनले यहाँ घाँस र चरण क्षेत्र उपलब्ध हुने भएकाले व्यापार गर्न सहज भएको बताए। घाटा–नाफा जे भए पनि पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।
दसैँ र तिहारका बेला पोखराका व्यापारी मात्र नभई अन्य जिल्लाका व्यवसायीसमेत च्याङ्ग्रा खरिद गर्न मुस्ताङ पुग्ने गर्छन्। जोमसोम, कागबेनी र चमरलगायत क्षेत्रबाट ल्याइने च्याङ्ग्रा म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा पुर्याउन एक सातासम्म लाग्ने गरेको छ। मुस्ताङबाट पोखरा हुँदै काठमाडौँसम्म पनि च्याङ्ग्रा पठाउने गरिन्छ।
कतिपय व्यापारीले ट्रकमार्फत पशु ढुवानी गर्छन् भने केहीले लामो दूरी पैदल यात्रा गराएर पोखरा ल्याउने गरेका छन्। हिमाली क्षेत्रबाट कठिन यात्रा पार गरेर सहरमा ल्याइने च्याङ्ग्राको मासु दसैँ र तिहारमा उपभोक्ताको विशेष रोजाइमा पर्ने गरेको छ।

























