श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुरमा
वि.सं.२०८३ कात्तिक २२ आइतवार ०६:०२
shares

नवलपुर । हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुगेको छ । रथयात्रा बागलुङ, पोखरा हुँदै देशका मुख्यमुख्य धार्मिकस्थलहरूको परिक्रमा गरी पूर्वको मेची पुगेर शनिबार नवलपुर आइपुगेको हो ।
श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ रथयात्रा सुरु भएको हो ।
मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा राष्ट्रव्यापी रथयात्रा सुरु गरिएको प्रवक्ता प्रपन्नाचार्यको भनाइ छ । यस रथयात्रा महाकालीसम्म पुगी फर्किएर नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम)मा आई विसर्जन हुने उनले बताए ।
“यो रथयात्रा मुक्ति क्षेत्रको प्रचार, शालिग्राम भगवान्को प्रचार, गण्डकी क्षेत्रको प्रचार, सामाजिक सद्भाव, धार्मिक एकताको सन्देश विस्तार गर्दै सञ्चालन भएको छ”, उनले भने, “हरेक वर्ष सञ्चालन हुँदै आएको यस रथयात्रा यस वर्ष कात्तिक ३० गते त्रिवेणीधाममा पुगेर विश्राम हुनेछ ।” रथयात्रा विश्राम भएपछि मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष दिव्यधाममा अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ सञ्चालन हुने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिनुभयो । एकमहिने विराट महायज्ञको पूर्वतयारीस्वरुप प्रचारप्रसार एवं मुक्तिक्षेत्रको प्रचारप्रसारका लागि कोजाग्रत पूर्णिमादेखि हरिबोधिनि एकादशीसम्म यो रथयात्रा सञ्चालन हुने उनको भनाइ छ ।
रथयात्राले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरूमा परिक्रमा गर्ने प्रवक्ता प्रपन्नाचार्यले बताए ।
“यस रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु तथा नेपालको गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो”, उनले भने । रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरणसमेत भइरहेको उनले बताए ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले देशका ऐतिहासिक तीर्थस्थलहरूबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गरी आन्तरिक पर्यटन, तीर्थाटन र स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु पनि रथयात्राको मूल उद्देश्य रहेको बताए । यस अवसरमा रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमी महानुभावहरूलाई भगवान्को दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र यस पुण्य अभियानमा सहभागी हुन पनि उनले आह्वान गरे । शनिबार नवलपुर आइपुगेको रथयात्रालाई स्थानीयले भव्य रूपमा स्वागत गर्दै भगवान्को दर्शन एवं प्रसाद ग्रहण गरेका थिए ।

























