काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बीपी राजमार्ग पुनःनिर्माण तीव्र, जाइकाले पनि थाल्यो काम

1.62K
shares

काभ्रेपलाञ्चोक। प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माणले तीव्रता पाएको छ। सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। यससँगै राजमार्गका अन्य तीन खण्डमा पनि निर्माण कार्य अघि बढिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणका लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको हो। डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जाइकाले हालै निर्माण कार्य सुरु गरेको जानकारी दिनुभयो।

त्यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ। डालाबेँशीदेखि चारसयबेँशीसम्मको ८.५ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ जेठ मसान्तसम्म काम सम्पन्न गर्ने जनाएको छ।

चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११.८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। यस्तै, पिप्लेदेखि डालाबेँशीसम्मको २.३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको उमा एन्ड कम्पनी–भण्डारी जेभीले २०८४ कात्तिक २६ गतेसम्म काम सक्ने गरी निर्माण अघि बढाएको छ।

डिभिजन प्रमुख योगेशले बीपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्यअनुसार नै भइरहेको बताउनुभयो।

विसं २०८१ असोज दोस्रो सातामा रोशी खोलामा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित दाप्चाखोला पुलदेखि सिन्धुलीको नेपालथोकसम्म करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी पुनःनिर्माण भइरहेको छ।

आगामी वर्षायामअघि नै निर्माणाधीन तीनवटै खण्डमा एक तह कालोपत्र गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ। बाढीबाट क्षतिग्रस्त सडकलाई समर्पित दुई लेनको संरचनामा पुनःनिर्माण गरिँदैछ।

पुनःनिर्माणका क्रममा पिप्लेदेखि डालाबेँशीसम्मको सडकका लागि ६८ करोड ८० लाख रुपैयाँ, डालाबेँशीदेखि चारसयबेँशीसम्मका लागि एक अर्ब ४२ करोड रुपैयाँ र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मका लागि एक अर्ब ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

यसैबीच, बीपी राजमार्गमा हाल पुनःनिर्मित सडकबाटै सवारीसाधन सञ्चालन भइरहेको छ। केही साँघुरा स्थानमा डाइभर्सन निर्माण गरी दुईतर्फी आवागमनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ। चौकीडाँडा र पिन्थलीमा भिरालो भूभागका कारण मर्मत तथा डाइभर्सनको काम भइरहेको छ। डालाबेँशी–पिप्ले खण्डमा पनि सोही व्यवस्था गरिएको छ।

वर्षाका कारण सडकमा लेदो तथा पहिरो खसेर आवागमन अवरुद्ध भएमा आधादेखि केही घण्टाभित्रै खुलाउने गरी आवश्यक सामग्री व्यवस्थापन गरिएको कार्यालय प्रमुख योगेशले बताउनुभयो।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बीपी राजमार्ग पुनःनिर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।

पुनःनिर्माण योजनाअन्तर्गत पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने र तीनवटै खण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु गरिएको थियो। विभिन्न खण्डमा निर्माण सम्पन्न भएपछि विसं २०७२ असार १८ गते जापान सरकारले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।