काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काग तिहार आज मनाइँदै, कागलाई मीठा परिकार खुवाएर पूजा गरिँदै

777
shares

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत काग तिहार पर्व आज देशभर मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बिहानै कागलाई यमराजको दूतका रूपमा पूजा गरी मीठा खानेकुरा खुवाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले शास्त्रीय मान्यताअनुसार आज शनिबार काग तिहार मनाउन लागिएको हो।

धार्मिक मान्यताअनुसार यमराजले कागका माध्यमबाट पृथ्वीको खबर प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित आजका दिन कागलाई पूजा गरेर मीठा खानेकुरा दिने चलन छ।

लोकपरम्पराअनुसार काग घरमा आएर कराएमा शुभ समाचार आउने विश्वास गरिन्छ। त्यसैले काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहेको छ।

काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर तथा हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।

तिहार पर्व यमराजसँग सम्बन्धित धार्मिक मान्यतासँग पनि जोडिएको छ। यमराजले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वासका साथ परिवारका सदस्यको नाममा यमदीपदान गर्ने परम्परा छ। यस वर्ष यमदीपदान शुक्रबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन परम्पराअनुसार यमदीप दक्षिण फर्काएर बाल्ने गरिन्छ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। यसअघि लक्ष्मीलाई घरमा स्थिर राख्ने धार्मिक विश्वासका साथ मनाइने धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको थियो। धनतेरसका दिन गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्ने परम्परा छ।