आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक २२ आइतवार ०६:३०
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाले आगामी पाँच दिनका लागि कुनै पनि मौसमी चेतावनी जारी गरेको छैन । यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी राख्न तथा पछिल्लो मौसमी सूचना र पूर्वानुमान नियमित रूपमा हेर्न सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

























