काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कृषि पढेका युवाको सयपत्री खेतीमा सामूहिक प्रयास

378
shares

नवलपुर । कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका युवाको अगुवाइमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सामूहिक सयपत्री फूलखेती गरिएको छ। तिहारलाई लक्षित गरी गरिएको खेतीमा फूल ढकमक्क फुलेपछि युवाहरू उत्पादन बिक्रीको तयारीमा जुटेका छन्।

गैँडाकोट नगरपालिका–५ मा स्थानीय २५ जना युवाले ‘सबैको हात’ नामक संस्था स्थापना गरी तीन कठ्ठा जमिन भाडामा लिएर फूलखेती सुरु गरेका हुन्। कृषि विषय अध्ययन गरेका आशिष कँडेलको संयोजकत्वमा सुरु गरिएको खेतीमा टेनिस बल प्रजातिका तीन हजार ४०० बिरुवा लगाइएको छ। ती बिरुवा कृषि विश्वविद्यालय तथा स्थानीय नर्सरीबाट प्रतिगोटा पाँच रुपैयाँका दरले खरिद गरिएको संस्थाका उपाध्यक्षसमेत रहेका कँडेलले जानकारी दिए।

समूहले करिब एक लाख रुपैयाँ सङ्कलन गरेर पहिलोपटक व्यावसायिक फूलखेती सुरु गरेको हो। कँडेलका अनुसार तिहारका लागि पहिलो उत्पादन टिप्ने तयारी गरिएको छ। एउटै बिरुवाबाट तीन पटकसम्म फूल टिप्न सकिने भएकाले मङ्सिरको अन्तिम सातासम्म उत्पादन लिन सकिने उनको भनाइ छ।

‘हामीले जग्गा भाडामा लिएर सामूहिक रूपमा फूलखेती गरेका हौँ,’ कँडेलले भने, ‘उत्पादनबाट प्राप्त आम्दानीको केही हिस्सा साझेदारले राख्ने र बाँकी संस्थाको सञ्चालन तथा सामाजिक काममा खर्च गर्ने योजना छ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन गरेका युवाहरूको संलग्नताले खेतीलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको कँडेलले बताए। फूल रोप्ने समय, बिरुवाबीचको दूरी, मलखादको प्रयोग र गोडमेलमा उचित विधि अपनाउँदा उत्पादन राम्रो भएको उनको भनाइ छ। फूलमा लाग्ने रोग तथा कीराबारे जानकारी भएकाले पनि खेतीमा सहज भएको उनले बताए।

अनुदान तथा आर्थिक सहयोगका कार्यक्रमबारे जानकारी नहुँदा समूहले अहिलेसम्म कुनै निकायबाट सहयोग प्राप्त गरेको छैन। आफ्नै प्रयास र लगानीमा सुरु गरिएको खेतीलाई आगामी वर्ष विस्तार गर्ने समूहको योजना छ।

संस्थाकी सदस्य प्रविणा केसीका अनुसार तिहार नजिकिएसँगै सयपत्री फूल तथा मालाको माग बढ्न थालेको छ। गैँडाकोट र चितवनका उपभोक्ताबाट माग आउन थालेको भन्दै उनले सम्भव भएसम्म घरघरमै पुगेर फूल उपलब्ध गराउने तयारी गरिएको बताइन्।

पहिलोपटक सामूहिक रूपमा सुरु गरिएको फूलखेतीबाट उत्साहित युवाहरूले आगामी दिनमा सोही जमिनमा अन्य उत्पादनमूलक कामसमेत गर्ने योजना बनाएका छन्। कृषि अध्ययनलाई व्यवहारमा उतार्दै सामूहिक उद्यममार्फत आत्मनिर्भर बन्ने युवाहरूको प्रयासले स्थानीयस्तरमा पनि प्रशंसा पाएको छ।