काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

र्यापर्यटनले फेरिँदै हात्तीदहको मुहार, एक वर्षमै आम्दानी दोब्बर

1.43K
shares

सिरहा । कुनै समय स्थानीयको वनभोज र घुमफिरमा सीमित सिरहाको हात्तीदह सिमसार क्षेत्र अहिले पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। सरकारी तथा विकास साझेदारको लगानी र स्थानीय समुदायको सक्रियतामा पर्यटकीय पूर्वाधार विस्तार भएपछि यहाँ पर्यटकको आगमनसँगै स्थानीयको रोजगारी र आम्दानीका अवसर पनि बढेका छन्।

लहान नगरपालिका–१५ स्थित कोइरालो खोला नमुना सामुदायिक वनभित्र रहेको हात्तीदहमा पछिल्लो समय आन्तरिकसँगै सीमावर्ती भारतीय पर्यटकको आगमन बढेको छ। पर्यटकको चहलपहल बढेसँगै सामुदायिक वनको आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ।

सामुदायिक वन उपभोक्ता समितिका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख २० हजार पर्यटकले हात्तीदह भ्रमण गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर एक लाख ३५ हजार पुगेको छ। पर्यटकको आगमनसँगै वन समूहको आम्दानी पनि अघिल्लो वर्षको ६८ लाख २४ हजार रुपैयाँबाट बढेर एक करोड २९ लाख ६४ हजार रुपैयाँ पुगेको छ। यो करिब ९० प्रतिशतको वृद्धि हो।

वन समूहका अध्यक्ष रुद्रनारायण चौधरीका अनुसार वन हस्तान्तरण भएपछि संरक्षणसँगै पर्यटन विकासलाई प्राथमिकता दिइएको हो। जलाशय व्यवस्थापन, बोटिङ, प्राणी उद्धार केन्द्र, वनस्टे र अन्य पर्यटकीय पूर्वाधार थपिँदै जाँदा पर्यटकको आकर्षण बढेको उनले बताए।

वन समूहले पर्यटकीय गतिविधिबाट प्राप्त आम्दानीको केही हिस्सा पूर्वाधार निर्माण र संरक्षणमा खर्च गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा आफ्नै स्रोतबाट करिब ३० लाख रुपैयाँ पर्यटकीय पूर्वाधार निर्माणमा लगानी गरिएको समूहले जनाएको छ। वन समूहको आम्दानी तथा खर्च वार्षिक साधारणसभामार्फत उपभोक्तासमक्ष सार्वजनिक गर्ने गरिएको अध्यक्ष चौधरीले बताए।

बहुपक्षीय लगानीमा पूर्वाधार विकास

हात्तीदहको विकासमा सामुदायिक वनको आफ्नै स्रोतसँगै सङ्घ, प्रदेश, स्थानीय तह र विकास साझेदारको लगानी जोडिएको छ। लहान नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी, विद्युतीकरण तथा अन्य पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले वनस्टेका लागि दुईकोठे भवन निर्माण गर्न २० लाख र सेल्फी ब्रिज बनाउन १० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यस्तै, वडामार्फत खानेपानीका धारा तथा कल जडान र विद्युतीकरणका काम भएका छन्।

तत्कालीन सांसद स्वर्गीय प्रदीप गिरीको संसदीय विकास कोषबाट २०७९ सालमा खानेपानी ट्याङ्की निर्माणका लागि १० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। बृहत् जलाधार व्यवस्थापन कार्यालय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले पनि वनभोजस्थल तथा जलाधार व्यवस्थापनमा सहयोग गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ मा विभिन्न पाँच कार्यक्रममार्फत हात्तीदहको पर्यटन पूर्वाधार तथा संरक्षणका लागि ५२ लाख ३५ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको थियो। चुरे उत्थानशील आयोजना, लहान नगरपालिका, डिभिजन वन कार्यालय लहान, संरक्षण परियोजना र राष्ट्रिय कृषक समूह महासङ्घबाट प्राप्त उक्त सहयोग तारबार, झाडी सफाइ, सौन्दर्यीकरण, पाहुनाघर निर्माण, कृषि वन तथा वृक्षरोपणमा खर्च गरिएको वन समूहले जनाएको छ।

लहान नगरप्रमुख महेशप्रसाद चौधरीले हात्तीदहको विकासलाई पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी, आयआर्जन र संस्कृति संरक्षणसँग जोडेर अघि बढाइएको बताए। वन समूहसँग आबद्ध करिब चार सय किसानलाई लक्षित गरी कृषि तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको र महिला समूहलाई दुना–टपरी बनाउने मेसिन उपलब्ध गराइएको उनले जानकारी दिए।

वनस्टे र स्थानीय व्यवसायबाट रोजगारी

पर्यटकको आगमन बढेसँगै हात्तीदह आसपासका बासिन्दाले विभिन्न व्यवसायमार्फत आयआर्जन गर्न थालेका छन्। वन समूहले सञ्चालन गरेको वनस्टे तथा क्यान्टिनमा १० जनाले रोजगारी पाएका छन्। तीमध्ये चार जना महिला छन्।

वन समूहकी कोषाध्यक्ष गीताकुमारी चौधरीका अनुसार वनस्टेमा प्रतिव्यक्ति ८५० रुपैयाँमा चिया, खाजा, स्थानीय खाना र एक रातको बसाइको सुविधा उपलब्ध गराइएको छ। यसबाट पर्यटकले स्थानीय थारू परिकार र संस्कृतिको अनुभव गर्न पाउनुका साथै वन समूहको आम्दानीमा पनि सहयोग पुगेको छ।

वनस्टेको पहिलो चरणमा दुई कोठा र शौचालयसहितको भवन निर्माण गर्न ११ लाख ७३ हजार रुपैयाँभन्दा बढी खर्च भएको थियो। त्यसमा परियोजनाको आठ लाख रुपैयाँभन्दा बढी र वन समूहको तीन लाख ६७ हजार रुपैयाँभन्दा बढी लागत सहभागिता रहेको थियो।

हात्तीदहमा पर्यटक ओसारपसार गर्ने ई–रिक्सा चालकदेखि आसपासका पसल, खाजाघर र कटेज सञ्चालकसम्मको व्यवसायमा पर्यटकीय गतिविधिले सकारात्मक प्रभाव पारेको छ। वन समूहका सचिव बद्री सदायका अनुसार लहान बजारदेखि हात्तीदहसम्म पर्यटक ओसार्न एक सयभन्दा बढी स्थानीयले ई–रिक्सा सञ्चालन गर्दै आएका छन्।

लहान–१५ शोभापुरका रामनाथ महतो दैनिक हात्तीदह र लहान बजारबीच छ पटकसम्म आवतजावत गर्दा ई–रिक्साबाट करिब एक हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने बताउँछन्। यही आम्दानीले चार जनाको परिवारको खर्च धान्न सहयोग पुगेको उनको भनाइ छ।

वन समूहका व्यवस्थापक दुर्गानन्द चौधरीका अनुसार पर्यटकीय गतिविधिसँग जोडिएका कटेज, खाजाघर र किराना पसलमा समेत व्यवसाय बढेको छ। यस्ता व्यवसायमार्फत करिब एक सय जनाले प्रत्यक्ष रोजगारी तथा आयआर्जनको अवसर पाएको उनले बताए।

महिला उद्यमशीलता र थारू संस्कृतिको प्रवर्द्धन

हात्तीदहको पर्यापर्यटन विकासले स्थानीय महिलालाई उद्यमशीलतामा जोड्ने अवसरसमेत सिर्जना गरेको छ। सिमसार क्षेत्रमा प्लास्टिकको प्रयोग घटाउने र स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले महिलालाई दुना–टपरी उत्पादनमा सक्रिय बनाइएको छ।

सामुदायिक वनबाट उपलब्ध हुने साल तथा भोर्लाका पात प्रयोग गरेर महिलाले घरमै दुना–टपरी उत्पादन गर्दै आएका छन्। नगरपालिकाले उपलब्ध गराएको मेसिनले उत्पादन बढाउन र बजारसम्म पुर्‍याउन सहज भएको महिला समूहकी सदस्य गीताकुमारी चौधरीले बताइन्।

‘पहिले घरायसी काममा मात्रै सीमित थियौँ। अहिले साल र भोर्लाका पात प्रयोग गरेर दुना–टपरी बनाउने गरेका छौँ,’ उनले भनिन्, ‘मेसिन उपलब्ध भएपछि उत्पादन गर्न सजिलो भएको छ। यसबाट हुने आम्दानीले घरखर्च र बालबालिकाको पढाइमा सहयोग पुगेको छ।’

अर्थशास्त्रका प्राध्यापक धरणीधर कोइरालाका अनुसार सार्वजनिक बजेटलाई स्थानीय समुदायको सहभागितामा एकीकृत रूपमा परिचालन गर्दा दीर्घकालीन उपयोग हुने पूर्वाधार र उत्पादनशील सम्पत्ति निर्माण गर्न सकिन्छ। यस्तो लगानीले वातावरण संरक्षणसँगै हरित रोजगारी र स्थानीय आयआर्जनका अवसर सिर्जना गर्ने उनको भनाइ छ।

वन संरक्षण, पर्यटकीय पूर्वाधार र स्थानीय उद्यमलाई एकैसाथ अघि बढाउँदा ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना हात्तीदहले देखाएको छ।