काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिजिटल धुनको भीडमा हराएन मादलको ताल, तिहारमा बढ्यो बिक्री

987
shares

आधुनिक प्रविधिसँगै गीतसङ्गीत र सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढ्दै गए पनि नेपाली मौलिक बाजा मादलको आकर्षण घटेको छैन। तिहार नजिकिएसँगै देउसीभैलो खेल्ने समूहले मादल किन्न थालेपछि यसको बिक्री बढेको छ।

धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुन्छन्। सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुने गरेको उनले बताए।

विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। उनको पसलमा तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल उपलब्ध छन्।

पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा उत्पादनसमेत गर्दै आएका छन्। आफ्नै कारखाना भएपछि ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनले बताए। पसल तथा कारखानामा छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन्।

धरानको भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै बिक्री बढेको बताए। विगत १५ वर्षदेखि परिवारसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका उनको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल छन्।

अधिकारीका अनुसार देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले तिहारमा यसको माग बढी हुन्छ। लक्ष्मीपूजादेखि बिक्री अझै बढ्ने गरेको उनले बताए। कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ।

भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न मूल्य र गुणस्तरका मादल राखेका छन्। देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादलसमेत खोज्ने भएकाले सबै मूल्यका मादल राख्ने गरेको उनले बताए।

इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारी पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापारमा संलग्न छन्। उनका अनुसार तिहारका बेला मादलको बिक्री उल्लेख्य बढ्छ। यस अवधिमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको उनले बताए।

डिजिटल धुन र आधुनिक साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको तालले अझै विशेष स्थान पाइरहेको छ। तिहारको सांस्कृतिक परम्परासँग जोडिएको मादलको यही आकर्षणले मौलिक बाजाको व्यापारलाई निरन्तरता दिएको छ।