काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

1.11K
shares

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल थलोबाट विस्थापित भएर पश्चिमी सङ्ग्रहालयसम्म पुगे, त्यस क्रममा के-कस्ता सांस्कृतिक अर्थ हराए ? र ती सम्पदा फिर्ता गर्ने अधिकार कसको हो ? भन्ने विषयलाई कलामार्फत सशक्त रूपमा उठान गरेको अन्तरराष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ ।

तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्ट: म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी सम्पन्न भएको हो ।

डा अर्शिया मन्सुर लोखण्डवालाले क्युरेट (संयोजन) गर्नुभएको उक्त प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि, मूर्तिकला तथा धार्मिक-अनुष्ठानिक वस्तुहरू आफ्नो जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी सङ्ग्रहालय तथा निजी सङ्ग्रहमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट प्रस्तुत गरेको थियो ।

धार्मिक आस्था, समुदाय र परम्परासँग प्रत्यक्ष सम्बन्ध राख्ने अमूल्य वस्तुहरू सङ्ग्रहालयमा पुगेपछि हेर्न र सङ्ग्रह गर्न मिल्ने ‘कलावस्तु’मा सीमित हुने अवस्थामाथि प्रदर्शनीले प्रश्न उठाइएको थियो ।

साथै, विस्थापित सम्पदाको स्वामित्व कसले निर्धारण गर्ने, त्यसको अर्थ कसले व्याख्या गर्ने र भविष्यबारे निर्णय गर्ने अधिकार कससँग रहने भन्ने समसामयिक बहसलाई समेत प्रदर्शनीले केन्द्रमा राखेको थियो ।

प्रदर्शनीमा नेपालका खाली भएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतबाट बाहिरिएका कास्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बङ्गलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भहरू समेटिएका थिए ।

यसले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको साझा पीडा र इतिहासलाई एकै थलोमा उजागर गरेको थियो ।

सम्पदा हराएको कथा मात्र नभई त्यस्तो विस्थापन सम्भव बनाउने औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्िवक वस्तुको बजार, संस्थागत भूमिका तथा सांस्कृतिक र आध्यात्मिक सम्बन्धभन्दा वस्तुको भौतिक स्वामित्वलाई प्राथमिकता दिने पश्चिमी सङ्ग्रहालयीय अभ्यासमाथि पनि प्रदर्शनी अवधिभर गहन विमर्श भएको थियो ।

प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका ख्यातिप्राप्त कलाकारहरू तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एलएन तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिङ्घेका विशिष्ट कलाकृतिहरू समावेश गरिएका थिए ।

सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुन:फिर्ता ल्याउने विषय नेपालका लागि विशेष संवेदनशील र महत्त्वपूर्ण रहेको बताइन् ।

उनका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहास आफ्नै दृष्टिकोणबाट हेर्ने र सांस्कृतिक सम्पदाको पुन:स्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने बलियो आधार प्रदान गर्दछ ।

त्यस्तै, क्युरेटर डा लोखण्डवालाले विश्वभरका सङ्ग्रहालयहरूले आफ्ना सङ्ग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय वर्तमान समयको अनिवार्य सांस्कृतिक बहस बनेको उल्लेख गरिन् । प्रदर्शनी अवधिमा कलाकार संवाद, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएका थिए ।

सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा लोखण्डवालाले क्युरेट गर्नुभएको यो तेस्रो प्रदर्शनी हो । दक्षिण एसियाली सम्पदाको स्वामित्व, औपनिवेशिक इतिहास र सांस्कृतिक पुन:स्थापनाका विषयमा रुचि राख्ने विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता तथा सम्पदाप्रेमीहरूको उल्लेखनीय सहभागिताका साथ प्रदर्शनी सम्पन्न भएको आयोजकले जनाएको छ ।