गृहपृष्ठ ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’ आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। - 1

पाँचथर । याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ । घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन् ।

उनका छिमेकी धनमाया बेघाको करेसाबारीमा पनि अलैँची नै छ । ‘सबै ठाउँमा अलैँची लगाएको’ उनी बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको घरआँगन पनि अलैँचीले ढाकिएको छ । बजारमा राम्रो मूल्य पाउन थालेपछि दुर्गम ग्रामीण क्षेत्रका किसानले अलैँचीलाई मुख्य बालीका रूपमा विस्तार गरिरहेका छन् ।

धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँची लगाएका सुकबहादुरका लागि यो बाली आम्दानीको मुख्य आधार बनेको छ । ‘अलैँचीले नै परिवार पालिएको’ उनी बताउँछन् ।

“हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो,” उनले भने, “अलैँची फलाएपछि साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।”

अलैँची उत्पादन गर्ने किसानले स्थानीय ग्रामीण बजारबाट वर्षभरि आवश्यक सामग्री उधारोमा खरिद गर्ने र उत्पादन बिक्री गरेपछि हिसाब मिलाउने गरेको उनको भनाइ छ ।

अलैँचीबाट जीविकोपार्जन सहज भएपछि किसानले यसलाई प्राथमिकतामा राखेका छन् । सुकबहादुर अलैँचीलाई किसानको ‘इज्जत’सँग जोड्छन् ।

“हाम्रो इज्जत राख्ने अलैँची भयो,” उनले भने, “रच्छ्यान, घुर्‍यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ ।”

किसान अलैँचीतर्फ आकर्षित हुनुमा यसको मूल्य पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन (४० किलो) ८० हजार रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको किसान बताउँछन् ।

“प्रतिमन ८० हजारसम्म पाइयो भने त राम्रो हो । त्यसो हुँदा प्रतिकिलो दुई हजार रुपैयाँ बराबर पर्न जान्छ,” सुकबहादुरले भने, “त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन । अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।”

धनमायाले पनि खेतबारी मासेर अलैँचीखेती विस्तार गरेकी छन् । “अलैँचीको भाउ पनि राम्रै छ । हातमुख जोड्ने बाटो नै यही भएको छ,” उनले भनिन् ।

तर, प्राकृतिक विपत्तिले अलैँची किसानलाई उत्तिकै जोखिममा पारेको छ । अविरल वर्षापछि गत जेठ ८ गते आएको पहिरोले धनमायाको खोलाखोल्सीमा रहेको मुख्य अलैँची बगान बगाइदियो ।

“अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन,” उनले भनिन्, “खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाँकी रह्यो । त्यसैबाट अलिकति आम्दानी गर्न सकिएला कि भन्ने आशा छ ।”

बिरुवाकै पूर्णबहादुर बेघाका अनुसार धान, मकै र कोदोखेती गर्दा लागतसमेत नउठ्ने भएकाले किसान अलैँचीतर्फ आकर्षित भएका हुन् ।

सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको करिब ३० मन अलैँची फल्ने बारी विसं २०८० असार र गत जेठमा आएको पहिरोले बगायो । अलैँची उत्पादन हुन छाडेपछि आफ्नो आयस्रोतको अन्य विकल्प नरहेको उनी बताउँछन् ।

“यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला,” उनले भने, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ ।”

याङवरक–१ मा मात्रै नभई पाँचथरका ४० भन्दा बढी वडामा अलैँची उत्पादन हुने गरेको राई बताउँछन् ।

कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ३ हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको थियो । उक्त अवधिमा १ हजार ३९६ दशमलव ९२ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए ।

प्रकाशित समय : ०६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु