गृहपृष्ठ मानव–वन्यजन्तु द्वन्द्व घटाउन सामुदायिक वनमा पोखरी

मानव–वन्यजन्तु द्वन्द्व घटाउन सामुदायिक वनमा पोखरी

मानव–वन्यजन्तु द्वन्द्व घटाउन सामुदायिक वनमा पोखरी

दमौली । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई वनभित्रै पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

जंगलमा पानीको स्रोतको अभाव भएपछि पानी खोज्दै बस्ती पस्ने वन्यजन्तुले मानिस तथा पशुधनमाथि आक्रमण गर्ने घटना बढ्न थालेपछि पोखरी निर्माण अभियान अघि बढाइएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले बताए ।

उनका अनुसार पछिल्ला वर्षमा जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आतङ्क बढ्नुको एउटा कारण जंगलभित्र पानीको स्रोतको अभाव पनि हो । वन्यजन्तु पानीको खोजीमा बस्ती पस्दा मानिस र पशुधनमाथि आक्रमणका घटना हुने गरेका छन् ।

कार्यालयका अनुसार ऋषिङ गाउँपालिका–६ स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका–६ को सपनकोट सामुदायिक वन र शुक्लागण्डकी नगरपालिका–१० को मलागिरि सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

त्यस्तै भानु नगरपालिका–१० को कवाचित सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को पार्चे सामुदायिक वन, व्यास नगरपालिका–११ को सिद्धबराह सामुदायिक वन, भिमाद नगरपालिका–२ को शेरा सामुदायिक वन र म्याग्दे गाउँपालिका–२ को उमाचोकमा पनि पोखरी निर्माण गरिएको छ ।

“तनहुँमा केही वर्षयता चितुवाको आतङ्क छ । जंगलमा पानीको स्रोत मासिँदै गएपछि चितुवा पानी खोज्दै बस्ती पस्न थाले,” रानाभाटले भने, “त्यसैलाई मध्यनजर गर्दै सामुदायिक वनमा पोखरी निर्माण गर्ने अभियानलाई निरन्तरता दिएका छौं ।”

पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले सम्बन्धित वन उपभोक्ता समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने गरेको छ । कार्यालयले सुरु गरेको अभियानलाई कतिपय स्थानीय तहले पनि अपनाउँदै आफ्नै लगानीमा पोखरी निर्माण गर्न थालेका छन् ।

वन क्षेत्रमा पर्याप्त पानीको स्रोत उपलब्ध गराउन सके वन्यजन्तुलाई पानीका लागि बस्ती पस्नुपर्ने बाध्यता कम हुने कार्यालयको विश्वास छ । चितुवा, हरिण, बाँदर, बँदेललगायत वन्यजन्तुले जंगलभित्रै पानी पाउने अवस्था सिर्जना भएमा मानव बस्ती र वन्यजन्तुबीचको प्रत्यक्ष सम्पर्क घटाउन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित समय : ०६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु