गृहपृष्ठ कालीगण्डकी बाढीले उजाडियो तिल्केनीचौर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनीचौर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनीचौर

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बगिरहेको छ । आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले घरका सामान निकालेर सडकमा थुपारेका छन् । ती सामान लिएर कहाँ बस्ने भन्ने टुंगो भने अझै छैन ।

“करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था छैन,” सोमबार दिउँसो घरका सामान सार्दै गरेका गमबहादुरले भने, “कालीगण्डकीको बाढी र कटानले हामीलाई सुकुम्बासी बनायो । परिवारलाई कहाँ लगेर राख्ने ? टुंगो छैन ।”

विदेशमा दुःख गरेर जोडेको सडकछेउको एक रोपनीभन्दा बढी जग्गा नदीले बगाएको छ । २० वर्षदेखि बस्दै आएको घर छाडेर हिँड्नुपर्दा गमबहादुरको परिवार विस्थापित भएको छ ।

आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको व्यापारिक केन्द्रजस्तै थियो । यहाँका रेस्टुरेन्टमा स्थानीय माछा, कुखुरालगायत परिकार खान बेनी–जोमसोम सडकमा यात्रा गर्ने मात्र होइन, बेनी, बागलुङ, कुश्मा र पोखराबाटसमेत पाहुना आउने गर्थे । असोज ८ देखि ११ गतेसम्मको लगातारको वर्षापछि आएको बाढीले भने तिल्केनीचौरका घर र व्यवसाय उजाडिएका छन् ।

रेस्टुरेन्ट व्यवसायी गोपाल भण्डारीले जीवनभरको कमाइ खर्चेर बनाएको घरसमेत छाड्नुपरेको बताए । कालीगण्डकीले धार परिवर्तन गर्दा उनको घरछेउको खेलमैदानको करिब ८० प्रतिशत भाग कटान भएको छ । अहिले नदी त्यही ठाउँबाट बगिरहेको छ ।

“पचास मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरेर एक्कासि बस्तीमा आउला भन्ने कल्पना पनि गरेको थिएन,” भण्डारीले भने, “हाम्रो घरजग्गा र सम्पत्ति मात्रै होइन, यहाँ काम गरेर जीविकोपार्जन गर्ने मजदुर तथा तरकारी, दूध, फलफूल र कुखुरा बेच्ने किसानलाई पनि पीडा भएको छ ।”

तिल्केनीचौरको चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङले करिब दुई दशक व्यवसाय गरेको ठाउँ छाडेर गलेश्वरमा बस्न थालेका छन् । “तिल्केनीचौर बस्तीमा भएका घर जुनसुकै बेला कालीगण्डकीले बगाउने अवस्था छ,” उनले भने, “अब यो बस्तीमा रित्ता घर मात्र रहने भए ।”

तिल्केनीचौरनजिकैको घुमाउने ताल क्षेत्रमा पनि नदीले कटान गरेको स्थानीय हरि चन्दले बताए । बाढी र कटानको जोखिमका कारण उनी राति पाखामा रहेको कुखुरा फार्ममा गएर सुत्ने गरेका छन् ।

घुमाउने तालदेखि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिका समेटिएको अन्नपूर्ण–धौलागिरि चक्रीय पदमार्गको प्रवेशबिन्दुमा रहेको उक्त पुल बगाएपछि स्थानीयको आवतजावत प्रभावित भएको छ ।

बाँसखर्कबाट ल्याइएको खानेपानीको पाइपलाइन पनि पुलसँगै बगेपछि स्थानीयलाई खानेपानीको समस्या भएको चन्दले बताए । उक्त क्षेत्रमा करिब १० घरपरिवारको बसोबास छ । बाँसखर्कतर्फको खेतीयोग्य जमिनसमेत नदीले कटान गरेको छ । राखु र बाँसखर्क क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकियो

तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा समेत कालीगण्डकीले कटान गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट आयोजनाले गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको थियो ।

विद्युत्गृहदेखि करिब ५० मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिक पुगेको छ । नदी विद्युत्गृहबाट पानी बगाउने टेलरेसतर्फ समेत पस्न थालेको छ । टेलरेसमा क्षति पुगे पनि विद्युत्गृहमा भने क्षति नभएको आयोजनाले जनाएको छ ।

सोह्र वर्ष लगाएर निर्माण गरिएको आयोजनाको परीक्षण उत्पादन केही दिनका लागि रोकिएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले प्राकृतिक विपद्का कारण परीक्षण उत्पादन बन्द गरिएको बताए ।

विद्युत्गृह र कालीगण्डकीबीच रहेको बेनी–जोमसोम सडकसमेत बाढीले बगाएको छ । यसअघि सवारीसाधन गुड्ने सडकमा अहिले नदी बगिरहेको छ ।

विद्युत्गृह परिसरमा रहेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)का उपकरण र सवारीसाधनसमेत बाढीले बगाएको छ । जेपीका कर्मचारी कुमार यादवका अनुसार करिब २० वटा सवारीसाधन बाढीले बगाएको छ ।

“आयोजना निर्माण सकेर जाने समयमा विपद्बाट अर्बौंको क्षति व्यहोर्नुपर्दा दुःख लागेको छ,” यादवले भने ।

राममन्दिर र बस्ती पनि जोखिममा

गायत्रीमन्दिर पारीको राममन्दिर क्षेत्रमा कालीगण्डकीको भँगालो ठोक्किएको छ । कालीगण्डकी र रघुगङ्गा नदीको संगममा रहेको राममन्दिरसमेत जोखिममा परेको स्थानीयले बताएका छन् ।

पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएको छ । सडकबाट आएको लेदो घरभित्र पस्दा हिलाम्मे भएको स्थानीय मिम थकालीले बताए । पाखोबाट खस्ने पहिरोको दीर्घकालीन समाधान नहुँदा बर्सेनि समस्या भोग्नुपरेको राहुघाटवासीको गुनासो छ । पहिरोका कारण २१ घरपरिवार जोखिममा परेका छन् ।

प्रकाशित समय : ०६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु