काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान

336
shares

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब  ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ ।

भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।

केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन् । विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पु¥याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ । उत्पादित बस्तु बजारसम्म पु¥याउ र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए।

उहाँका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ ।

उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए ।