सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
वि.सं.२०८३ मंसिर १२ शनिवार ११:२०
shares

राँझा । बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ ।
केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ । उहाँ हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन् । परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएको छन् ।
वार्षिक २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएको छन् । अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए ।
“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन ।”
कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो । बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ । सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ । माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन् ।
असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार
हुन्छ । एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ । “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई÷तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।”
चाडपर्व र मेलामा अत्यधिक माग
बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ । बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ । विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ । व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए । नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन् ।
उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ । भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ । सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ ।

























