काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी

609
shares

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचनासहित पुलहरू बगाएपछि रसुवाका स्थानीय बासिन्दा अहिले पनि सहज आवतजावतको पर्खाइमा छन् । गत भदौ १० गते आएको बाढीले गाउँ जोड्ने बाटो र पुलहरूमा क्षति पुर्याएपछि स्थानीयवासी तुइनको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा जसोतसो तुइन तरेर वारपार गरिरहेका उनीहरूलाई वर्षायाममा कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । पुल नहुँदा नदी वारपार गर्न तुइन चढ्नुपर्ने बाध्यता छ । तुइनमा झुन्डिएर नदी पार गर्दा हरेक पटक स्थानीयको मन ढुकढुक हुन्छ । एकातिर नदीको बहाव र अर्कोतिर चुँडिने हो कि भन्ने डरबीच उनीहरू दैनिक जीवनका लागि जोखिम मोलिरहेका छन् ।

बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै स्थानीयको जीवनसमेत तहसनहस बनाएको छ । स्थानीय नान्सी तामाङले बाढीमा आफ्नो ठूलो छोरा गुमाए । बाढीका कारण गाउँ नै विस्थापित भएपछि आवतजावतका लागि बाटोसमेत नहुँदा उनले भोग्नुपरेको सास्ती झनै पीडादायी छ । तीन दिनअघि गाउँ फर्किँदा पहिलेको तुलनामा गाउँ झन् सुनसान र दुःखद अवस्थामा देखेको उनी बताउँछिन् । कुनै समय दुईदेखि तीन सय जनासम्मको बसोबास रहेको गाउँमा अहिले मुस्किलले ५०–६० जना मात्रै भेटिने गरेको उनको भनाइ छ ।

बाढीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ भने कतिपयलाई गाउँ छाड्न बाध्य बनाएका छन् ।

काठमाडौँबाट ईभी चढेर दिउँसो साढे ४ बजे धुन्चे पुगेका तामाङले राति करिब साढे ८ बजेसम्म पनि तुइन तर्न नसकेको अनुभव सुनाए टर्चको उज्यालोमा एक्लै कुरेर बस्नुपरेको र पछि पारिबाट आएका व्यक्तिको सहयोगमा मात्रै नदी पार गर्न सकेको उनले बताए । फर्किने क्रममा तुइन चढ्दा डरले आँखा चिम्लिएर नदी पार गरेको उनको अनुभव छ ।

बाढीले पुर्याएको क्षति र विस्थापनको पीडामाथि पुल नहुँदाको सास्ती थपिएको छ । स्थानीयवासीका अनुसार तत्काल आवतजावत सहज बनाउने व्यवस्था नहुँदा दैनिक जीवनयापनदेखि बिरामीलाई अस्पताल लैजान र अत्यावश्यक कामका लागि समेत समस्या भइरहेको छ । स्थानीयले स्थानीय सरकार, प्रदेश सरकार, वडा अध्यक्ष तथा विभिन्न सहयोगी निकायलाई तत्काल सुरक्षित पुल निर्माण वा अस्थायी वारपारको व्यवस्था गरिदिन आग्रह गरेका छन । हिउँदमा तुइनको सहारामा जसोतसो दिन काटिरहेका उनीहरूलाई वर्षायाम सुरु हुनुअघि नै सुरक्षित विकल्प उपलब्ध गराउनुपर्ने माग छ ।

भोटेकोशीको बाढीले भत्काएका संरचना अझै पुनर्निर्माणको पर्खाइमा छन् । पुल नहुँदा तुइनमा झुन्डिएर नदी पार गर्नुपर्ने रसुवावासीको बाध्यता कहिले हट्ने हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।